विराटनगर । मोरङको विराटचोकमा आयोजित सीमा सुरक्षा बैठकका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे बेहोस भएर ढलेका छन् । शुक्रबार दिउँसो बैठकका क्रममा उनी ढलेका हुन् ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख घिमिरे बैठकमा सहभागी भइरहेकै बेला अचानक ढलेपछि उपचारका लागि मोरङकै बुढीगंगास्थित विराट मेडिकल कलेज पुर्याइएको थियो ।
अस्पताल स्रोतका अनुसार, उच्च रक्तचापका कारण उनी अचानक ढलेका थिए । बेहोस भई ढल्ने क्रममा उनको जिब्रो काटिएको थियो ।स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि सघन उपचारका लागि भेन्टिलेटरको सहायता लिइएको अस्पतालले जनाएको छ ।
सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डिआइजी कुमार न्यौपानेले घटनाको पुष्टि गर्दै एसपी घिमिरेको उपचार भइरहेको बताए । ‘बैठककै क्रममा उहाँ अचानक ढल्नुभएको हो,’ उनले भने, अवस्था अलिक क्रिटिकल भयो भन्नेछ ।’
नम्बर ३ बाहिनी गाडीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका उनकाे भाेलि माेरङबाट बिदा हुने तयारी थियाे ।