विराटनगरका विद्यार्थीलाई उद्यमी बन्न सिकाउँदै उद्योग संगठन

विराटनगर । युवाहरूलाई स्वदेशमै स्वरोजगार र उद्यमशीलतामा प्रेरित गर्ने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘बिजनेस एट स्कुल’ कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न गरेको छ । विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर व्यवहारिक सीपसँग जोड्न कार्यक्रममा ‘टेस्ट द ट्रेनिङ’ सत्र सञ्चालन गरिएको थियो । मनमोहन पोलिटेक्निकको प्राविधिक सहयोगमा विद्यार्थीहरूलाई इन्टरनेट अफ थिंग्स, अटोमेसन, सिसिटिभी क्यामेरा सेटअप, मोबाइल तथा ल्यापटप मर्मत जस्ता समसामयिक विषयमा आधारभूत जानकारी र तालिम प्रदान गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्लास्टिक पुनः प्रयोग गरी बनाइएका सामग्रीहरूको प्रदर्शनी, करियर काउन्सिलिङ, र विद्यार्थीहरूका लागि भीआर प्रविधिमार्फत ‘भर्चुअल उद्योग भ्रमण’ रहेका थिए । साथै, विद्यार्थीहरूले आफ्ना नवीन ‘बिजनेस आइडिया’ प्रस्तुत गर्नुका साथै सफल उद्यमीहरूको अनुभवबाट प्रत्यक्ष सिक्ने अवसर समेत पाएका थिए ।

कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छाले कक्षा कोठाको सिकाइलाई जीवनमुखी बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘युवाहरूमा रहेको अन्यौलता चिर्दै स्थानीय तहमै रहेका अवसर र सम्भावना पहिचान गर्न यो कार्यक्रमले मद्दत गरेको छ । विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसारको भविष्य रोज्न यसबाट स्पष्ट मार्ग निर्देशन पाउने छन् ।’

त्यस्तै, सत्यनारायण विद्यालयका प्रधानाध्यापक मनोज भट्टराईले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने र स्वदेशमै सफल उद्यमी बन्न सकिन्छ भन्ने विश्वास जगाउने बताए ।

उद्योग संगठन मोरङले यस अभियानलाई आगामी दिनमा अन्य विद्यालयहरूमा पनि विस्तार गर्दै लैजाने लक्ष्य राखेको छ । स्वदेशमै उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश फैलाउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको संगठनले जनाएको छ ।