विराटनगर । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा म्याद ६ महिना थप गरिएको छ ।
२०७९ साल पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो । मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको थियो । तेस्रो चरणको म्याद गएको पुस १५ मा सकिएपछि ६ महिनाका लागि थप गरिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार डिजाइनको तथ्याङ्क गलत पर्दा सडकको नक्साङ्कन फरक परेकाले समयमा काम गर्न नपाएको हुँदा निर्माण कम्पनीलाई १ सय ८३ दिन म्याद थप गरिएको छ । उहाँका अनुसार अहिलेका लागि नक्साङ्कनका विषयलाई सम्बोधन गर्दै समय थप गरिएको भए पनि अन्य विषय छलफलमा नै रहेको छ ।
धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ । फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी गरिएको छ । नाली, बेरियर, पुललगायत सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । दरैकाअनुसार आयोजनाको तर्फबाट आवश्यक सहजीकरण गरेर थप भएको समयमा सक्ने गरी कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनिएको छ ।
शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यो खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा नागढुङ्गा–मलेखु खण्ड विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो ।