मोरङको रंगेलीमा महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको रंगेलीमा आइतबार १ जना महिलाको मृत्यु भएको घटनामा श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रंगेली नगरपालिका–२ जलियाकी ३५ वर्षीया मोरङमई मुर्मू आइतबार दिउँसो आफ्नो घरभित्रको कोठामा मृत फेला परेकी थिइन् । स्थानीयले मोरङमई मृत फेला पर्नुअघि घरमा श्रीमान–श्रीमतीको झगडा परेको जानकारी प्रहरीलाई दिएका थिए ।

स्थानीयले दिएको जानकारीका आधारमा प्रहरीले मोरङमईका श्रीमान साईना मुर्मूलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याएको हो । यद्यपि, प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए ।

‘घरभित्र महिला मृत फेला परेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रंगेलीको टोली खटिएर घटनाको अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएको छैन । तर, स्थानीयले श्रीमान–श्रीमतीको झगडा परेको जानकारी दिएपछि श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ,’ उनले भने । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।

प्रहरीका अनुसार महिलाको नाडीमा सामान्य चोटजस्तो देखिएको छ । तर, घटनाको वास्तविकता कारण पोस्टमार्टम रिपोर्ट प्राप्त भएर थप अनुसन्धानपछि पत्ता लाग्ने डीएसपी चौधरीले बताए ।