विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सीटी सफारी (ई–रिक्सा) नियमन नयाँ चरणमा प्रवेश गरेको छ । पहिचानका लागि सफारी चालकलाई छुट्टै पोसाकको व्यवस्था गरिएको छ ।
वर्षौंदेखि अराजक, असुरक्षित र अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका सीटी सफारी अब ‘सुरक्षित चालक’को स्पष्ट पहिचानसहित सडकमा देखिने छन् । यात्रु सुरक्षालाई केन्द्रमा राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सुरु गरेको ‘सुरक्षित चालक’ अभियानले सहरको सार्वजनिक यातायात व्यवस्थापनमा नयाँ अध्यायको थालनी गरेको हो ।
सुरक्षित चालक अभियानअन्तर्गत सोमबार विराटनगर महानगरपालिका–१ मा आयोजित कार्यक्रममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका ५ सय जना सफारी चालकलाई ‘सुरक्षित चालक’ लेखिएको विशेष ज्याकेट (पोसाक) वितरण गरिएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलगायतले पोसाक वितरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी घिमिरेले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वयं जिम्मेवार र अनुशासित हुनुपर्नेमा जोड दिए । उनले नियमअनुसार लाइसेन्स लिएर सवारी सञ्चालन गर्ने चालक नै वास्तविक अर्थमा सुरक्षित चालक हुने उल्लेख गर्दै पोसाकले पहिचान झल्काउनुका साथै चालकलाई जिम्मेवारीको बोध गराउने बताए ।
‘जसरी प्रहरीलाई बर्दीले अनुशासनको स्मरण गराउँछ । त्यसैगरी सुरक्षित चालकको ज्याकेटले चालकलाई नियमभित्र राख्नेछ,’ डीआईजी घिमिरेले भने । उनले पोसाकलाई मर्यादा र जिम्मेवारीसँग जोड्दै अमर्यादित, गैरकानुनी र जोखिमपूर्ण गतिविधिमा संलग्न नहुन चालकहरूलाई आग्रह गरे ।
ट्राफिक प्रहरी कर्मचारीहरूलाई पनि सवारी चालक, सहचालक र सडक प्रयोगकर्ताप्रति समान व्यवहार गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न घिमिरेको निर्देशन छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीले विराटनगरमा सञ्चालनमा रहेका सीटी सफारीलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अभियान सुरु गरिएको जानकारी दिए ।
छोटो दूरीको यात्रामा उपयोगी साधन भए पनि ट्राफिक नियम उल्लंघन र असुरक्षित सञ्चालनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले चालक पोसाकले नियम पालनामा सकारात्मक प्रभाव पार्ने बताए । यो अभियान सडक सुशासन र दुर्घटना न्यूनीकरणसँग प्रत्यक्ष जोडिएको एसपी गिरीको भनाइ छ ।
कोशी प्रदेशको राजधानी तथा प्रमुख औद्योगिक सहर विराटनगरमा सीटी सफारीलाई कानुनी दायरामा ल्याएर मर्यादित र यात्रुमैत्री बनाउन सुरक्षित चालक अभियान अघि बढाइएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार नेपालमै पहिलोपटक ट्राफिक प्रहरीले कम्प्युटर प्रणालीमार्फत सीटी सफारी चालकको डिजिटल अभिलेख तयार पारेको छ ।
दर्ता भएपछि प्रत्येक चालकलाई छुट्टै दर्ता नम्बर दिइन्छ । जुन ‘सुरक्षित चालक’ लेखिएको ज्याकेटको पछाडि स्पष्ट देखिने गरी छापिएको हुन्छ । अब यात्रुले चालकको नाम वा सफारी नम्बर सम्झनु पर्ने छैन । दर्ता नम्बरकै आधारमा गुनासो र उजुरी गर्न वा अन्य सुझाव दिन सक्ने छन् ।
दर्ता हुनुअघि चालकले अनिवार्य रूपमा ट्राफिक नियम र सुरक्षित सवारी सञ्चालनसम्बन्धी अनुशिक्षण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ । ज्याकेट पोसाक मात्र नभएर जिम्मेवारीको प्रतीक भएको इन्स्पेक्टर न्यौपानेको भनाइ छ । ‘सुरक्षित चालक भनेको प्रशिक्षित, प्रमाणित र उत्तरदायी चालक हो,’ उनले भने ।
विराटनगर भारतीय सीमानजिक भएकाले भारतीय नागरिकद्वारा अवैध रूपमा सीटी सफारी सञ्चालन हुने समस्या लामो समयदेखि देखिँदै आएको थियो । यसले सुरक्षा जोखिमसँगै स्थानीय आम्दानी बाहिरिने अवस्था सिर्जना गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।
यही कारण सफारी दर्ताका लागि नेपाली नागरिकता र सवारी चालक अनुमतिपत्र अनिवार्य गरिएको छ । सबै प्रक्रिया पूर्णतः निःशुल्क रहेको प्रहरीले जनाएको छ ।
‘विकल्प एण्ड अल्टरनेटिभ’ संस्थाले गरेको सर्वेक्षणमा विराटनगरमा ८४ प्रतिशतभन्दा बढी सफारी चालकसँग लाइसेन्स नभएको तथ्य सार्वजनिक भएपछि नियमनको आवश्यकता झनै स्पष्ट भएको थियो । यही पृष्ठभूमिमा कोशी प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गर्दै सीटी सफारी चालकका लागि लिखित परीक्षा हटाएर प्रयोगात्मक (ट्रायल) परीक्षा मात्र लिने व्यवस्था गरेको छ ।
अधिकांश चालक निरक्षर वा कम पढेका भएकाले लिखित परीक्षा पास गर्न नसक्ने समस्यालाई सम्बोधन गर्ने उद्देश्यले गरिएको यो निर्णयलाई व्यवहारिक र समावेशी मानिएको छ । ट्राफिक प्रहरीले सफारी चालकको दर्ता प्रक्रिया गत पुस १७ गतेबाट सुरु गरेको थियो ।
ट्राफिक प्रहरीले अबदेखि विराटनगरमा लाइसेन्स, ब्लुबुक र सुरक्षित चालक पोसाकबिना सफारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउने छ । ज्याकेटको दुरुपयोग, नक्कली प्रयोग वा अरुलाई हस्तान्तरण गरे कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले ट्राफिक प्रहरीसँग सहकार्य गर्दै सीटी सफारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन महानगरले भूमिका खेल्ने प्रतिबद्धता जनाए । सफारी चालक संघका प्रतिनिधि भगवान बस्नेतले पनि अभियानले आफ्नो पेसालाई सम्मानित र सुरक्षित बनाउने भन्दै सबै चालकलाई नियम पालना गर्न आग्रह गरे ।
डीआईजी घिमिरेसहित अतिथिहरूले सुरक्षित यात्राको कामनासहित चालकहरूलाई नम्बर अंकित ‘सुरक्षित चालक’ ज्याकेट हस्तान्तरण गरेका थिए । कार्यक्रममा यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, ‘विकल्प एण्ड अल्टरनेटिभ’का संस्थापक वसन्त अधिकारी, नागरिक समाजका अगुवा तथा सफारी चालकहरूको उपस्थिति रहेको थियो ।
ट्राफिक प्रहरीका अनुसार ‘सुरक्षित चालक’ अभियानले दुर्घटना न्यूनीकरण, यात्रु सुरक्षाको प्रत्याभूति, अवैध सञ्चालनको अन्त्य र हजारौँ श्रमिक परिवारको जीवनमा स्थायित्व ल्याउने लक्ष्य लिएको छ । विराटनगरबाट सुरु भएको अभियानलाई मोरङ जिल्लाभर र कोशी प्रदेशका अन्य सहरसम्म विस्तार गर्ने तयारी समेत भइरहेको छ ।