विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित मोरङ जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाभरका मतदानस्थल र मतदान केन्द्रहरूको संयुक्त स्थलगत अनुगमनलाई तीव्र बनाइएको छ । निर्वाचन लक्षित सुरक्षा संयन्त्र परिचालन, प्रशासनिक समन्वय, पूर्वाधार सुदृढीकरण र आचारसंहिता कार्यान्वयनलाई एकसाथ अगाडि बढाइएको छ ।
मोरङ जिल्लामा कुल ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र तोकिएका छन् । ती सबै स्थानमा मतदाताले निर्भीक र सुरक्षित वातावरणमा मतदान गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थानीय प्रशासन, सुरक्षा निकाय, निर्वाचन कार्यालय र सम्बन्धित सरोकारवाला निकायबीच समन्वयात्मक ढंगले अनुगमन भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङको नेतृत्वमा संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका मतदानस्थल र केन्द्रहरूको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरिरहेको छ । अनुगमन टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाली सेनाका प्रमुख सेनानी अनिल बस्नेत, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एसपी राजन शर्मा सहभागी छन् ।
सुरक्षा निकायका प्रमुखहरूको संयुक्त उपस्थिति एवं अनुगमनले निर्वाचनलाई उच्च प्राथमिकतामा राखिएको देखिन्छ । एसपी कवित कटवालका अनुसार अनुगमनका क्रममा अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रहरूको सुरक्षा अवस्था, भौतिक पूर्वाधार, मतदानस्थलसम्मको पहुँच, सञ्चार सुविधा, आकस्मिक अवस्थाको तयारी तथा सुरक्षाकर्मी परिचालनको अवस्थाबारे विस्तृत मूल्यांकन भइरहेको छ ।
उनले विगतका निर्वाचन अनुभव, स्थानीय राजनीतिक गतिविधि, जनघनत्व, सामाजिक संरचना र भौगोलिक जटिलतालाई आधार मानेर मतदान केन्द्रहरूको वर्गीकरण गरिएको जानकारी दिए । सोही आधारमा सुरक्षा रणनीति तयार पारिएको छ ।
हालसम्म मोरङका निर्वाचन क्षेत्र नम्बर २, ३, ४, ५ र ६ अन्तर्गतका अधिकांश मतदानस्थल र मतदान केन्द्रहरूको अनुगमन सम्पन्न भइसकेको छ । क्षेत्र नम्बर १ अन्तर्गतका मतदान केन्द्रहरूको अनुगमन जारी छ । विशेषगरी उत्तरी मोरङका दुर्गम तथा भौगोलिक दृष्टिले चुनौतीपूर्ण क्षेत्रहरूमा पर्ने मतदान केन्द्रहरूको निरीक्षणका लागि बुधबार संयुक्त टोली त्यसतर्फ प्रस्थान गर्ने छ ।
ती क्षेत्रमा सडकको अवस्था, मौसमको प्रभाव, सञ्चार पहुँच र आपत्कालीन अवस्थामा उद्धार तथा सुरक्षाको संयन्त्र कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयलाई प्राथमिकताका साथ हेरिने एसपी कटवाल बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलले निर्वाचन अवधिभर सम्भावित भिड व्यवस्थापन, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको ढुवानी तथा भण्डारण, संवेदनशील क्षेत्रहरूमा निरन्तर गस्ती र आकस्मिक अवस्था लगायतका विषयमा बुझ्ने काम भइरहेको बताए । उनका अनुसार निर्वाचनको दिन द्रुत प्रतिक्रिया टोली (र्यापिड रेस्पोन्स टिम) तयारी अवस्थामा रहनेछ । कुनै पनि अप्रिय घटना भए तत्काल नियन्त्रण र व्यवस्थापन गर्न सक्ने गरी योजना बनाइएको छ ।
अनुगमनका क्रममा मतदान केन्द्रमा आवश्यक न्यूनतम पूर्वाधारको अवस्थाबारे पनि सूक्ष्म रूपमा परीक्षण भइरहेको छ । सुरक्षित र पर्याप्त स्थान भएको भवन, शौचालयको व्यवस्था, स्वच्छ खानेपानी, अपांगतामैत्री पहुँच, मतदान कक्षको गोपनीयता, सुरक्षाकर्मीको प्रभावकारी तैनाथी, भिड व्यवस्थापनको पूर्वतयारी तथा मतदान सामग्री सुरक्षित राख्ने व्यवस्थाजस्ता विषयमा प्रत्यक्ष अनुगमन भइरहेको जानकारी एसपी कटवालले दिए ।
ठाउँठाउँमा निर्वाचन लक्षित अन्तरक्रिया पनि भइरहेको छ । कतिपय स्थानमा देखिएका साना कमजोरीहरूलाई तत्काल सुधार गर्न अनुगमन टोलीले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता कार्यान्वयनलाई पनि प्रशासनले उच्च प्राथमिकतामा राखेको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आचारसंहिताको पूर्ण पालना अपरिहार्य रहेको स्पष्ट पारे । उनका अनुसार राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि, सरकारी कर्मचारी र सुरक्षाकर्मी सबैले आफ्नो भूमिकाप्रति जिम्मेवार र सजग हुनुपर्ने अवस्था छ ।
‘निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन कडाइका साथ अनुगमन भइरहेको छ । कुनै पनि किसिमका अवाञ्छित गतिविधि सह्य हुँदैनन् । गलत गतिविधि गर्नेलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याइनेछ,’ कोइरालाले भने । उनले चुनाव प्रचारका क्रममा सार्वजनिक सम्पत्तिको दुरुपयोग, धार्मिक वा जातीय भावनामा असर पर्ने अभिव्यक्ति, बालबालिकाको प्रयोग, सरकारी स्रोतसाधनको दुरुपयोग, अवैध प्रचार सामग्रीको प्रयोग जस्ता विषयमा विशेष निगरानी राखिएको जानकारी दिए ।
सुरक्षा निकायले निर्वाचन अवधिभर मदिरा बिक्री वितरण नियन्त्रण, अवैध हतियार ओसारपसार रोकथाम, नगद तथा अन्य प्रकारका प्रलोभनजस्ता गतिविधि नियन्त्रण तथा अनधिकृत भेला जुलुसमा निगरानी बढाएको छ । मोरङ भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमावर्ती नाकाहरूमा उच्च सतर्कता अपनाइएको छ । सीमाबाट अवैध रूपमा सामग्री वा व्यक्तिको आवतजावत हुन नदिन संयुक्त गस्ती, चेकजाँच र खुफिया संयन्त्र सक्रिय बनाइएको सुरक्षा स्रोतले जनाएको छ ।
निर्वाचन कार्यालयले मतदाता शिक्षालाई पनि समानान्तर रूपमा अघि बढाएको छ । मतपत्र कसरी प्रयोग गर्ने, मतदान कक्षभित्र पालना गर्नुपर्ने नियम, निषेधित सामग्री, मतदान प्रक्रियाको चरणबद्ध जानकारी लगायत विषयमा स्थानीय तह, स्वयंसेवक तथा सञ्चार माध्यममार्फत सूचना प्रवाह भइरहेको छ । मतदाता भ्रममा नपरुन् र मतदान प्रक्रिया सहज होस् भन्ने उद्देश्यले विभिन्न माध्यम प्रयोग गरिएको छ ।
अपांगता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक तथा गर्भवती महिलालाई सहज रूपमा मतदान गर्न विशेष व्यवस्था मिलाउने तयारी गरिएको छ । मतदान केन्द्रसम्मको पहुँचमार्ग सहज बनाउने, आवश्यक परे सहयोगीको व्यवस्था गर्ने तथा प्राथमिकताका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाइने निर्वाचन कार्यालयले जनाएको छ । यसले समावेशी र समान अवसरयुक्त निर्वाचन सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गए पनि प्रशासनले सबै पक्षलाई संयमित र मर्यादित गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । चुनाव प्रचारका क्रममा उत्तेजक अभिव्यक्ति, सामाजिक सद्भावमा असर पर्ने गतिविधि वा मतदातालाई डर त्रास देखाउने प्रयास भए तत्काल कारबाही गरिने चेतावनी दिइएको छ । प्रशासनले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको उत्सवका रूपमा शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्यको अपेक्षा गरेको छ ।
मोरङ जिल्ला कोशी प्रदेशकै राजनीतिक रूपमा महत्त्वपूर्ण जिल्ला मानिन्छ । यहाँ ६ वटा निर्वाचन क्षेत्र छन् । विभिन्न निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरुबीच प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । त्यसैले सुरक्षा तथा प्रशासनिक तयारीमा कुनै पनि प्रकारको कमजोरी हुन नदिने नीति लिइएको प्रमुख जिल्ला अधिकारी कटेलले स्पष्ट पारे । उनका अनुसार सुरक्षा, आचारसंहिता, पूर्वाधार व्यवस्थापन, मतदाता शिक्षा र प्रशासनिक समन्वयजस्ता सबै पक्षलाई सन्तुलित रूपमा सुदृढ बनाउने प्रयास भइरहेको छ ।
निर्वाचनका लागि मतदान सामग्री सुरक्षित रूपमा मतदानस्थलसम्म पुर्याउने, मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा संकलन केन्द्रसम्म ल्याउने र गणनास्थलसम्म सुरक्षित ढुवानी गर्ने विषयलाई पनि सुरक्षा योजनामा समेटिएको छ । कटेलका अनुसार प्रत्येक चरणमा सुरक्षा निकायको उपस्थिति सुनिश्चित गरिनेछ । संवेदनशील र अतिसंवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिने र नियमित गस्ती बढाइने उनले बताए ।
मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुने वातावरण तयार पार्ने प्रतिबद्धता प्रशासनले जनाएको छ । ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । नागरिकले निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण तयार गरिएको छ,’ प्रजिअ कटेलले भने । उनले निर्वाचन लोकतन्त्रको आधार भएकाले यसलाई सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङमा बहुआयामिक तयारी अघि बढेको छ । संयुक्त अनुगमन, उच्च सतर्कता, आचारसंहिताको कडाइका साथ कार्यान्वयन, पूर्वाधार सुदृढीकरण, मतदाता शिक्षा र सीमावर्ती क्षेत्रको निगरानीलाई एकसाथ अगाडि बढाइएको एसपी कटुवाल बताउँछन् । प्रशासन र सुरक्षा निकायले सबै खालका चुनौती सामना गर्न तयार रहेको सन्देश दिएका छन् ।