विराटनगर । मोरङमा दुर्घटनामा परेर घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर–कर्सिया हुलाकी सडक खण्डअन्तर्गत धनपालथान गाउँपालिका–६ कदमाहामा गत माघ २२ गते दिउँसो दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार विराटनगरबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश १–०२–००४१ प ३४१६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–००१–०४७ प ७८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका ७८१२ नम्बरको मोटरसाइकलको पछाडि सवार धनपालथान गाउँपालिका–६ का अन्दाजी २६ वर्षीय प्रदीप विकको बुधबार साँझ मृत्यु भएको हो ।
उनको विराटनगरको कोशी अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलका चालक धनपालथान–६ का ५४ वर्षीय श्रवण मुर्मूलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परेर मुर्मू पनि सामान्य घाइते भएका थिए । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको हो ।
दुर्घटनामा परेर ३४१६ नम्बरको मोटरसाइकलका चालक कटहरी गाउँपालिका–२ का २७ वर्षीय लक्ष्मीप्रसाद साह पनि घाइते भएका थिए । कोशी अस्पतालबाट उनलाई थप उपचारका लागि मोरङ सहकारी अस्पताल रेफर गरिएको थियो ।