दुर्घटनापछि प्रशासन कार्यालय घेराउ, प्रहरीद्वारा हवाइ फायर

विराटनगर । रामेछापमा भएको यात्रुवाहक बस दुर्घटनापछि मृतकका परिवार र आफन्तले क्षतिपूर्ति तथा अन्य माग राख्दै बुधबार दिनभरि सडक अवरुद्ध गरेका छन् ।

दिनभर जारी विरोध साँझपख झनै चर्किँदा जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटमै प्रदर्शनकारीहरूले घेराउ गर्दै नाराबाजी गरेपछि स्थिति तनावपूर्ण बन्यो । अवस्था नियन्त्रणबाहिर जान थालेसँगै भिड तितरबितर पार्न प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको छ । केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

दुर्घटनापछि आक्रोशित बनेका मृतकका परिवारले सुरुवातदेखि नै सडक अवरुद्ध गरेर दबाब सिर्जना गरिरहेका थिए । उनीहरूको मुख्य माग अरनिको यातायात सेवा समितिका जिम्मेवार पदाधिकारी स्वयं रामेछाप आएर वार्तामा बस्नुपर्ने रहेको छ ।

साथै, उनीहरूले प्रतिमृतक २५ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका १ सदस्यलाई रोजगारीको व्यवस्था गरिनुपर्ने, मृतकका बालबालिकाको सम्पूर्ण शिक्षाको जिम्मेवारी राज्य वा सम्बन्धित यातायात समितिले लिनुपर्ने, घाइतेहरूको निःशुल्क तथा पूर्ण उपचारको ग्यारेन्टी हुनुपर्ने र दुर्घटनामा बेपत्ता भएका यात्रुको तत्काल खोजी गरी अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने माग राखेका छन् ।

बुधबार साँझसम्म पनि अरनिको यातायात सेवा समितिका केन्द्रीय पदाधिकारी रामेछाप नआएको भन्दै पीडित पक्ष झन् आक्रोशित बनेको थियो । जिल्लामै रहेका समितिका काउन्टर प्रमुख सुवास फुँयालले कानुनअनुसार प्रति मृतक ५ लाख रुपैयाँ क्षतिपूर्ति र ३० हजार रुपैयाँ क्रियाखर्च दिने प्रावधान रहेको जानकारी दिएका छन् ।

तर, मृतकका परिवारले उक्त प्रस्ताव अस्वीकार गर्दै यसलाई न्यून र पीडामाथिको अपमानका रूपमा व्याख्या गरेका छन् । प्रशासन कार्यालय परिसरमा प्रदर्शन भइरहँदा भित्र सर्वदलीय बैठक जारी रहेको थियो ।

जिल्ला प्रशासन, प्रहरी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा समाधान खोज्ने प्रयास भइरहेको छ । तर साँझसम्म पीडित पक्षका मुख्य मागमा सहमति जुट्न नसकेपछि प्रदर्शन जारी रहयो ।

स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीको संख्या बढाइएको छ । साँझतिर भीड आक्रामक बन्दै प्रशासन कार्यालयको मूल गेटतर्फ धकेलिन थालेपछि प्रहरीले पहिलो चरणमा चेतावनी दिएको थियो । तर, भिड आक्रामक बनेपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको हो ।

यसैबीच, दुर्घटनामा परी ३ जना अझै बेपत्ता रहेको भन्दै पीडित पक्षका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रामेछापमा औपचारिक निवेदन दिएका छन् । प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–६ का २४ वर्षीय विशाल सुनुवार, लिखु तामाकोशी गाउँपालिका–७ की ८ वर्षीया रेमिसा तामाङ र मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ हालसम्म फेला परेका छैनन् ।

खोज तथा उद्धार कार्य जारी रहेको भन्दै प्रहरीले बुधबार साँझसम्म उनीहरूको अवस्था अज्ञात नै रहेको जनाएको छ । स्थानीय र नागरिक समाजका प्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिन, पीडितलाई यथोचित राहत तथा दीर्घकालीन सुरक्षा उपाय अवलम्बन गर्नुपर्ने माग गरेका छन् । उनीहरूले हरेक दुर्घटनापछि सामान्य क्षतिपूर्तिको प्रस्ताव राखेर जिम्मेवारी टार्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र सार्वजनिक यातायात सेवामा कडाइका साथ अनुगमन गर्नुपर्ने माग राखेका छन् ।