ढाका । शेख हसिनाको १५ वर्षे लामो एकछत्र शासन अन्त्य भएको दुई वर्षपछि आज (बिहीबार) बंगलादेशमा ऐतिहासिक आम निर्वाचन हुँदैछ। सन् २०२४ को विद्यार्थी आन्दोलन र राजनीतिक उथलपुथलपछि पहिलो पटक हुन लागेको यो चुनावमा देशभरका १२ करोडभन्दा बढी मतदाताले नयाँ सरकार चुन्न मतदान गर्दैछन्।
हसिनाको बहिर्गमनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले सत्ता सम्हालेको थियो। अन्तरिम सरकारले लामो समयको तयारीपछि गराउन लागेको यो चुनावलाई बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनाको कडीका रूपमा हेरिएको छ। यसपटकको निर्वाचन प्रक्रिया विगतभन्दा निकै फरक र रोचक छ।
- एक भोट सरकारलाई, अर्को भोट ‘संविधान’ लाई
मतदान केन्द्रमा पुग्ने हरेक मतदाताले आज दुईवटा मतपत्र प्राप्त गर्नेछन्, जुन बंगलादेशको चुनावी इतिहासमै नौलो अभ्यास हो। पहिलो ‘सेतो मतपत्र’ मार्फत मतदाताले आफ्नो निर्वाचन क्षेत्रका लागि सांसद चयन गर्नेछन्। दोस्रो ‘गुलाबी मतपत्र’ भने राष्ट्रिय जनमत संग्रहका लागि प्रयोग हुनेछ। गुलाबी मतपत्रमार्फत जनताले प्रस्तावित संवैधानिक सुधार प्याकेजलाई स्वीकार वा अस्वीकार गर्न सक्नेछन्। यस प्याकेजमा संसद्मा महिलाको प्रतिनिधित्व बढाउने, प्रधानमन्त्रीको कार्यकालको सीमा तोक्ने र १०० सदस्यीय माथिल्लो सदन (राष्ट्रिय सभा) गठन गर्ने प्रस्ताव समावेश छ। यदि जनमत सङ्ग्रहबाट यी प्रस्ताव पारित भएमा भविष्यमा संविधान संशोधन गर्न माथिल्लो सदनको बहुमत अनिवार्य हुनेछ।

- अवामी लिग रिङ बाहिर, बीएनपी र जमातबिच मुख्य टक्कर
विगतका चुनावहरूमा मुख्य प्रतिस्पर्धी रहने शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएका कारण यसपटकको चुनावी मैदानको दृश्य फेरिएको छ। अवामी लिगको अनुपस्थितिमा सेन्टर-राइट मानिने बंगलादेश नेसनल पार्टी (बीएनपी) लाई मुख्य दाबेदारका रूपमा हेरिएको छ।
बीएनपीका नेता एवं पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानले भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र पूर्वाधार विकासको एजेन्डा अघि सारेका छन्। धेरैले उनलाई भावी प्रधानमन्त्रीका रूपमा हेरेका छन्।
बीएनपीलाई चुनौती दिन जमात-ए-इस्लामी बलियो रूपमा प्रस्तुत भएको छ। कुनै समय प्रतिबन्धित रहेको यो सबैभन्दा ठुलो मुस्लिम पार्टीले हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गरेको छ।
युवा केन्द्रित नेसनल सिटिजन पार्टीसँग गठबन्धन गरेको जमातले आर्थिक समृद्धि र कृषि सुधारको वाचा गरेको छ। यद्यपि, सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानलाई सघाएको इतिहासका कारण जमात-ए-इस्लामीप्रति धेरैको आक्रोश अझै साम्य भइसकेको छैन।

- रगतले लेखिएको परिवर्तन
सन् २०२४ को जुलाईमा भएको विद्यार्थी आन्दोलनले बंगलादेशको राजनीतिलाई नयाँ मोड दिएको थियो। संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा सुरक्षा फौजको कारबाहीमा १४०० भन्दा बढीको ज्यान गएको थियो। ४६ दिनसम्म चलेको हिंसात्मक प्रदर्शनले अन्ततः हसिनालाई देश छोड्न बाध्य बनायो।प्रदर्शनकारीमाथि दमन गरेको आरोपमा हसिनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ, तर उनी हाल भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। हसिनाले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै यो चुनावको वैधानिकतामाथि नै प्रश्न उठाएकी छन्। तर, बंगलादेशी जनता भने लामो समयपछि भयरहित वातावरणमा आफ्नो प्रतिनिधि चुन्न पाएकोमा उत्साहित देखिएका छन्।
- विदेशमा रहेकाले पनि भोट हाल्न पाउने
यस निर्वाचनको अर्को ऐतिहासिक पक्ष भनेको विदेशमा रहेका बंगलादेशी नागरिकले पनि पहिलो पटक मतदान गर्न पाउनु हो। यसअघि विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था थिएन। राजनीतिक अस्थिरता र तानाशाही प्रवृत्तिको अन्त्यपछि भइरहेको यो चुनावले बंगलादेशलाई लोकतान्त्रिक ट्रयाकमा फर्काउने अपेक्षा गरिएको छ।
विगतका निर्वाचनहरू विवादित र धाँधलीपूर्ण भएको गुनासो आउने गरे पनि यसपटक मतदाताले आफूसँग वास्तविक विकल्प रहेको महसुस गरेका छन्। दुई प्रमुख राजनीतिक हस्ती शेख हसिना र खालिदा जियाको प्रत्यक्ष उपस्थितिबिना दशकौंपछि हुन लागेको यो चुनावको नतिजाले दक्षिण एसियाली मुलुक बंगलादेशको भविष्य तय गर्नेछ।