लागुऔषध र प्रतिबन्धित औषधीसहित ५ जना पक्राउ

विराटनगर । झापा र सुनसरीका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको गौरीगंज–२ मा प्रहरी टोलीले बुधबार चेकजाँचका क्रममा ६ ग्राम ९ मिलिग्राम ब्राउन सुगर फेला पारेको हो।

मे १ ह ५६६७ नम्बरको अटो रिक्सालाई शंका लागेर चेकजाँच गर्दा अटोको म्याटभित्र लुकाएको अवस्थामा उक्त ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा अटो चालक शिवसताक्षी–२ का दिलकुमार विश्वकर्मा, गौरादह–८ का अमन ताजपुरिया, धरान–१६ की दीपा परियार र बेलबारी–९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, सुनसरीको बराहक्षेत्र–५ कालाबन्जार चोकबाट पनि एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बराहक्षेत्र–६ का सुमित सञ्जय गुप्तालाई प्रतिबन्धित औषधी ९५ पिस र स्कुफ २ बोतलसहित पक्राउ गरेको हो। पक्राउ परेका सबैजनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।