विराटनगर। काठमाडौँको घ्याङ्खेलमा सस्तो मूल्यमा सुन दिने प्रलोभन देखाएर ६० लाख रुपैयाँ डकैती गर्ने गिरोहका थप दुई सदस्यलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका ४१ वर्षीय रमेश बुढा मगर र इलामका ३४ वर्षीय दीपक राई रहेका छन् ।
गत माघ १४ गते काठमाडौँ महानगरपालिका–१४ स्थित घ्याङ्खेलमा ‘सस्तोमा सुन दिन्छु’ भन्दै पीडितलाई ६० लाख रुपैयाँसहित बोलाएर ८–९ जनाको समूहले कुटपिट गरी रकम लुटेको थियो । घटनापछि फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा झापाको बिर्तामोडबाट समातिएको हो । प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल र लुटपाटमा प्रयोग भएका दुई थान मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका दुवै जना पुराना आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन् । रमेश बुढा मगर लागू औषध मुद्दामा ९ वर्ष जेल बसेर २०७८ मा छुटेका व्यक्ति हुन् भने दीपक राई यसअघि चोरी मुद्दामा पक्राउ परेका थिए । प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ र गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको छ ।