विराटनगर । प्रतिनिधिसभा निर्वाचनको माहोल उत्कर्षमा पुगेका बेला मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार रहेका नेकपा (एमाले)का नेता विनोद ढकाललाई पितृशोक परेको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा घरदैलो, मतदाता भेटघाट र चुनावी रणनीतिमा व्यस्त रहेका ढकालका १०१ वर्षीय पिता विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगर महानगरपालिका–५ स्थित आफ्नै निवासमा निधन भएको हो । चुनावी अभियानको निर्णायक घडीमा परेको यो शोकले ढकालको व्यक्तिगत जीवनमा मात्रै नभएर उनको राजनीतिक अभियानलाई पनि प्रत्यक्ष असर पारेको छ ।
फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ढकाल विगत केही समयदेखि निरन्तर चुनावी कार्यक्रममा सक्रिय थिए । बिहीबार बिहान उनी मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत गोठगाउँ क्षेत्रमा घरदैलो एवं मतदाता भेटघाट अभियानमा संलग्न रहेका बेला बुवाको निधन भएको खबर पुगेको थियो । खबर पाउनेबित्तिकै उनी कार्यक्रम स्थगित गर्दै तत्काल विराटनगर फर्किएका थिए ।
हिन्दु परम्परा अनुसार शोकमा बसेका ढकाल केही दिन औपचारिक रूपमा चुनावी कार्यक्रमबाट टाढा रहनेछन् । उनको अनुपस्थितिमा एमालेले चुनावी अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ ।
पार्टीले पूर्वमन्त्री तथा नेता लालबाबु पण्डितलाई मोरङ क्षेत्र नम्बर ६ को चुनावी कमाण्डर तोकेको छ । ढकालको अनुपस्थितिमा घरदैलो, मतदाता भेटघाट, टोलसभा र प्रचारप्रसार कार्यक्रमलाई पार्टी संरचनामार्फत अघि बढाइने जनाइएको छ ।
एमाले मोरङका उपाध्यक्ष सागर थापाले उम्मेदवार शोकमा रहेका कारण पार्टी पंक्तिले सामूहिक रूपमा अभियान सम्हाल्ने बताए । उनका अनुसार निर्धारित कार्यक्रमहरू रद्द नगरिकन संगठनात्मक ढंगले सञ्चालन गरिनेछन् । ‘उम्मेदवार शोकमा हुनुहुन्छ । तर, निर्वाचन प्रक्रिया रोकिँदैन । पार्टी पंक्ति एकजुट भएर अभियान अघि बढाउँछ,’ थापाको भनाइ छ ।
विनोद ढकाल एमालेभित्र प्रभावशाली र संगठक नेताका रूपमा चिनिन्छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मार्फत राजनीतिक यात्रामा प्रवेश गरेका थिए । एमाले मोरङको जिल्ला अध्यक्ष र पार्टीको केन्द्रीय सदस्य भइसकेका ढकाल पार्टी संगठनमा आफ्नो प्रभाव स्थापित गर्न र मोरङमा बलियो ‘नेटवर्क’ बनाउन सफल भएका छन् । भोजपुरबाट बसाइँ सरेर विराटनगरलाई कर्मथलो बनाएका ढकाल २०४२ सालदेखि यहाँ सक्रिय राजनीतिमा छन् ।
तर, संसदीय राजनीतिमा उनको यात्रा भने चुनौतीपूर्ण रहँदै आएको छ । २०६५ सालको संविधानसभा उपनिर्वाचनमा उनी नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँग पराजित भएका थिए । त्यसपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीसँग पराजित भए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनी तत्कालीन नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीसँग हार व्यहोरेका थिए । ३ वटा निर्वाचनमा पराजय भोगेका ढकालका लागि यसपटकको चुनाव राजनीतिक रूपमा निर्णायक अवसरका रूपमा हेरिएको छ ।
यसपटक मोरङ क्षेत्र नम्बर ६ मा ढकाल फेरि डा. शेखर कोइरालासँग आमनेसामने छन् । १५ वर्षअघि उपनिर्वाचनमा भएको प्रतिस्पर्धाको पुनरावृत्ति यस निर्वाचनमा देखिएको छ । यस क्षेत्रमा कांग्रेसका डा. कोइराला र एमालेका ढकालसहित १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुविना आचार्य, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ओपेन्द्र रायलगायतको उम्मेदवारीले चुनावी माहोललाई थप रोचक बनाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार मोरङ क्षेत्र नम्बर ६ प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ ।
यहाँ कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिए पनि नयाँ दलहरूको उपस्थिति र स्थानीय मुद्दाले परिणाम प्रभावित गर्न सक्ने आकलन गरिएको छ । ढकालको संगठनात्मक पकड, लामो राजनीतिक सक्रियता र कार्यकर्तामाझको पहुँच उनका बलिया पक्ष मानिन्छन् ।
चुनावी अभियानको अन्तिम चरणमा परेको पितृशोकले ढकालप्रति मतदाताको सहानुभूति बढ्न सक्ने चर्चा पनि चल्न थालेको छ । यद्यपि, निर्वाचनको परिणाममा संगठन, रणनीति तथा मतदाताको विश्वास निर्णायक हुन्छ । एमाले पंक्तिले भने शोकको घडीमा पनि संगठनात्मक एकता देखाउँदै अभियानलाई तीव्र बनाउने तयारी गरेको छ ।
ढकालले यसअघि सार्वजनिक रूपमा यस निर्वाचनलाई आफ्नो राजनीतिक पुनरागमनको अवसरका रूपमा लिएको बताएका थिए । विगतका पराजयबाट पाठ सिकेर संगठन सुदृढीकरण, मतदाता सम्पर्क र स्थानीय मुद्दामा केन्द्रित रणनीति उनले अपनाएका छन् । तर, निर्वाचनको ठीक पूर्वसन्ध्यामा परेको पारिवारिक शोकले उनको व्यक्तिगत मनोस्थिति र अभियानको गति दुवैमा प्रभाव पारेको छ ।
यद्यपि, एमाले नेतृत्व र कार्यकर्ताहरू ढकालको अनुपस्थितिमा पनि चुनावी गति सुस्त नहुने दाबी गरिरहेका छन् । लालबाबु पण्डितको कमाण्ड, जिल्ला तथा विराटनगर महानगर कमिटीको सक्रियता र स्थानीय तहका संरचनामार्फत घरदैलो अभियानलाई निरन्तरता दिने योजना रहेको एमाले विराटनगर अध्यक्ष बलराम गिरी (नवीन)ले बताए ।
मोरङ क्षेत्र नम्बर ६ मा यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ । विगतको हारबाट उकासिन खोजिरहेका ढकाल र आफ्नो राजनीतिक पकड जोगाउन प्रयासरत डा. कोइरालाबीचको प्रतिस्पर्धा २ व्यक्तिको भिडन्त मात्र नभएर २ राजनीतिक धारको परीक्षा पनि हो । यस्तो संवेदनशील र प्रतिस्पर्धात्मक घडीमा परेको पितृशोकले चुनावी माहोललाई भावनात्मक रंग दिएको छ ।
एमालेका विराटनगर अध्यक्ष गिरी शोकको घडीबीच अघि बढाइने संगठनात्मक रणनीतिले ढकाललाई बहुप्रतीक्षित जित दिलाउने बताउँछन् । निर्वाचनको दिन नजिकिँदै जाँदा मोरङ–६ को राजनीतिक तापक्रम भने बढिरहेको छ ।