विराटनगरबाट कुलमान घिसिङको घोषणा : ‘देशमा कायापलट गर्छौं, सबैतिरको अँध्यारो हटाउँछौं’

विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको समग्र परिवर्तन, सुशासन र आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राख्दै ५ वर्षभित्र ठोस परिणाम दिने दाबी गरेका छन् ।

विराटनगरमा बिहीबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताको साथ र सहभागिताले मात्रै देशको रूपान्तरण सम्भव हुने बताएका हुन् । घिसिङले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को पार्टी सम्पर्क कार्यालय उद्घाटन पनि गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीका तर्फबाट देशभर संयुक्त रूपमा उम्मेदवारी दिइएको बताए ।

मोरङ–६ मा उज्यालो नेपाल पार्टीका तर्फबाट २५ वर्षीय वसन्त बुढाथोकी चुनावी मैदानमा छन् । घिसिङले आफूहरू जेनजी पुस्ताको आकांक्षा बोकेर आएको दाबी गरे । ‘हामीलाई सशक्त जेनजी पुस्ताको साथ छ । युवा पुस्ताले देशको परिवर्तन र समृद्धिका लागि लाग्नुपर्छ,’ उनले भने, ‘जेनजी आन्दोलनमा संलग्नहरू उज्यालो नेपाल पार्टीमा आबद्ध छन् । जेनजीले खोजेको यो पार्टी काम देखाएर र परिणाम दिएर आएको हो ।’

उनले आफ्नो नेतृत्वलाई विगतको कार्यसम्पादनसँग जोड्दै लोडसेडिङ अन्त्यको प्रसंग उठाए । ‘हिजो लोडसेडिङ अन्त्य गरेर आएका हौं । लोडसेडिङ एउटा क्षेत्र मात्रै भयो । अब सबैतिरको अँध्यारो हटाउनुपर्छ । हामी हटाउँछौं । ५ वर्षभित्र देशमा कायापलट गर्छौं उनले भने । घिसिङले देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र कमजोर उत्पादनशीलतालाई प्रमुख चुनौतीका रूपमा औंल्याए ।

उनका अनुसार उज्यालो नेपाल पार्टीको प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चित गर्नु हो । ‘देशको भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छौं । देशभित्रै रोजगारी सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘अब हरेक व्यक्ति र क्षेत्रमा उज्यालो ल्याउने छौं ।’ उनले मतदान गरेर जिताए ५ वर्षभित्र देशमा ठोस परिवर्तन देखिने दाबी गर्दै भने, ‘भोलि जनताले प्रश्न सोध्ने अवस्था आउँदैन । उज्यालो नेपाल पार्टीलाई खोज्दै जनता नै आउने बनाउँछौं ।’

उनले असल राजनीतिक संस्कार र अभ्यासको वकालत गर्दै परम्परागत राजनीतिक प्रवृत्तिबाट देश अघि बढ्न नसकेको संकेत गरे । आफ्नो दलले आगामी दिनमा परिणाममुखी काम गर्ने उनको भनाइ थियो । ऊर्जा, पूर्वाधार विकास र आर्थिक आत्मनिर्भरताजस्ता विषयलाई प्राथमिकतामा राखिएको बताउँदै उनले दीर्घकालीन विकासका लागि स्पष्ट कार्ययोजना तयार गरिएको दाबी गरे ।

घिसिङले युवा बेरोजगारी र बढ्दो विदेश पलायनलाई गम्भीर समस्या भन्दै देशभित्र अवसर सिर्जना गर्नु अपरिहार्य भएको उल्लेख गरे । ‘युवा विदेश जान बाध्य हुने अवस्था अन्त्य गर्नुपर्छ । घट्दो उत्पादनशीलताको अन्त्य गरेर देशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्छ,’ उनले भने । उत्पादन, उद्यम र प्रविधिमा आधारित अर्थतन्त्र निर्माणतर्फ पार्टीले ध्यान दिने उनले बताए ।

कार्यक्रममा मोरङ–६ का उम्मेदवार वसन्त बुढाथोकीले पनि आमूल परिवर्तनको एजेन्डा लिएर आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले देशको वर्तमान अवस्थाबाट नागरिक असन्तुष्ट रहेको उल्लेख गर्दै आफूले बेरोजगारी अन्त्य र विकासको स्पष्ट खाका प्रस्तुत गरेको दाबी गरे ।

‘देशको आमूल परिवर्तन र बेरोजगारी अन्त्यका लागि उम्मेदवारी दिएको हुँ । जनताले साथ दिए परिवर्तन सम्भव छ,’ बुढाथोकीले भने । उनले मतदातालाई आफूलाई जिताउन आग्रह गर्दै जनताको भरोसालाई कार्यसम्पादनबाट प्रमाणित गर्ने प्रतिबद्धता जनाए ।

घिसिङले पनि बुढाथोकीलाई जिताउन आग्रह गर्दै मोरङ–६ बाट परिवर्तनको सन्देश दिनुपर्ने बताए । बुढाथोकीले जनताको माया र विश्वास नै आफ्नो राजनीतिक पुँजी भएको उल्लेख गर्दै त्यसलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति थियो । सम्पर्क कार्यालय उद्घाटन भइसकेको बताउँदै बुढाथोकीले मोरङ–६ मा चुनावी गतिविधि थप तीव्र बनाइने जानकारी दिए । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले संयुक्त रूपमा अघि सारेको उम्मेदवारीले स्थानीय राजनीतिक समीकरणमा नयाँ बहस सिर्जना गरेको कतिपयको बुझाइ छ ।

घिसिङको भाषणले ऊर्जा क्षेत्रको उपलब्धिलाई व्यापक राष्ट्रिय रूपान्तरणसँग जोड्ने प्रयास गरेको देखिन्छ । उनले विगतको कार्यअनुभवलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आगामी ५ वर्षलाई निर्णायक समयका रूपमा चित्रित गरेका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन, युवा रोजगारी, उत्पादन वृद्धि र आर्थिक आत्मनिर्भरताजस्ता मुद्दालाई केन्द्रमा राख्दै उनले मतदातासँग समर्थनको अपिल गरेका हुन् ।