रौतहट : आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा संलग्न नगराउन सबै पक्षसँग आग्रह गरेको छ। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बालबालिकालाई चुनावी सभा, जुलुस, प्रचारप्रसार तथा अन्य राजनीतिक कार्यक्रममा प्रयोग नगर्न स्पष्ट निर्देशन दिएका हुन्।
विज्ञप्तिमा बालबालिका राष्ट्रको भविष्य भएको उल्लेख गर्दै उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक र शारीरिक शोषणबाट जोगाउनु राज्य, राजनीतिक दल र समाजको साझा दायित्व भएको जनाइएको छ। साथै नेपालको संविधान, बालअधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको पनि सूचनामा उल्लेख गरिएको छ।
प्रशासनले निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा बालमैत्री, मर्यादित र कानुनसम्मत बनाउन सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरेको छ।