विराटनगर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा शुक्रबार राति एउटा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। लेलेबाट बालुवा बोकेर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको ट्रक सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा गोदावरी नगरपालिका–६ का ५२ वर्षीय चालक गणेश खड्का र ४२ वर्षीय गणेश थापाको घटनास्थलमै ज्यान गएको छ। अन्य दुई जना पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ, जसको सनाखत हुन अझै बाँकी छ। जिल्ला प्रहरी परिसर ललितपुरले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको बताएको छ।