बङ्गलादेशमा नयाँ सरकार गठन अर्को हप्ता : बीएनपीका अध्यक्ष रहमान प्रधानमन्त्री बन्ने निश्चित

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२४ भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ जनादेशसहित ऐतिहासिक सफलता हासिल गरेको छ ।

डेढ वर्षअघि नागरिक विद्रोहले शेख हसिना नेतृत्वको सरकार ढालेपछि भएको यो पहिलो संसदीय चुनाव हो । बीएनपीको निर्णायक विजयसँगै अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । त्यहाँ अर्को हप्ता नयाँ सरकार गठनको तयारी छ । प्रधानमन्त्रीका रुपमा ६० वर्षीय रहमानले देशको नेतृत्व सम्हाल्नुहुनेछ ।

राजनीतिमा शुरूदेखि नै प्रभावशाली रहँदै आएको जिया–रहमान परिवारका उहाँ सदस्य हुनुहुन्छ । उहाँका बुवा र आमा दुवै बङ्गलादेशको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । बुवा जियाउर रहमान राष्ट्रपति हुनुहुन्थ्यो भने उहाँको हत्यापछि राजनीतिमा आएकी आमा बेगम खालेदा जिया पछि देशकै प्रथम महिला प्रधानमन्त्री बन्नुभयो ।

बङ्गलादेशको निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावको पछिल्लो नतिजा अनुसार बीएनपीले घोषणा गरिएको २ सय ९७ मध्ये २ सय ९ सिट जितेको छ । त्यस्तै हसिना सरकारले प्रतिबन्ध लगाएको जमात–ए–इस्लामीले ६८ सिट जितेको छ । आन्दोलनबाट उदाएको राजनीतिक दल राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ६ सिटसहित तेस्रो स्थानमा छ ।

अन्य दलहरूले सात सिट र बाँकी रहेका सात सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । ढाका ट्रिब्युनका अनुसार कूल ३ सय सिटमध्ये चटगाँउ–२ र चटगाँउ–४ को नतिजा कानुनी जटिलताका कारण रोकिएको छ । शेरपुर–३ मा एक उम्मेदवारको निधन भएका कारण त्यहाँ मतदान स्थगित भएको छ ।