विराटनगर । विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहानका राति करिब १ बजेतिर दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
दुर्घटनामा परेको बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४ सय २० किलो गाँजा बरामद गरेको हो । दुर्घटनापछि चालक फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको छ ।
प्रहरीका अनुसार भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । दुर्घटनाको सूचना पाउनासाथ सीआरभी बरगाछीका असई सन्तोष कटवाल र वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर साजन महतरा नेतृत्वको संयुक्त टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा गाडी सडक छेउको खाल्डोमा अड्किएको अवस्थामा फेला परेको थियो भने चालक घटनास्थलमै थिएनन् ।
प्रहरीले गाडी नियन्त्रणमा लिएर प्रारम्भिक जाँच गर्दा शंकास्पद देखिएको थियो । खानतलासीका क्रममा गाडीभित्र लुकाइछिपाइ राखिएको ठूलो परिमाणको गाँजा फेला परेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्कोरपिओको सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा प्याक गरेर राखिएको थियो ।
‘गाडी दुर्घटनामा परेपछि चालक भागेको पाइयो । हामीले ४२० किलो गाँजा बरामद गरेका छौं । नियन्त्रणमा लिइएको गाडी र गाँजालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । विस्तृत अनुसन्धान अघि बढाइएको छ,’ एसपी कटवालले भने । दुर्घटनापछि गाडी सडकबाट बाहिर निकाल्न जिल्ला प्रहरी कार्यालयबाट डीएसपी हरिनन्दन चौधरी नेतृत्वको टोली खटिएको थियो ।
खाल्डोमा छिरेको गाडीलाई क्रेनको सहयोगमा बाहिर निकालेर प्रहरी कार्यालयमा लगिएको हो । बरामद गाँजालाई मुचुल्का तयार गरी सुरक्षित राखिएको र त्यसको नमुना परीक्षणसम्बन्धी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीलाई छल्न हतारमा र तीव्र गतिमा कुदाउँदा गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त गाँजा भारत कटाउन खोजिएको हुनसक्ने आशंका पनि प्रहरीले गरेको छ । यद्यपि, गाँजा कहाँबाट ल्याइएको र अन्तिम गन्तव्य कहाँ थियो भन्नेबारे यकिन हुन बाँकी रहेको बताउँदै एसपी कटवालले थप अनुसन्धानपछि सबै कुरा प्रष्ट हुने जनाए ।
मोरङमा लागुऔषधको ओसारपसार र कारोबार नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको उनले बताए । विशेष गरी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सीमावर्ती क्षेत्रलाई उच्च निगरानीमा राखेर कडाइ गरिएको एसपी कटवालको भनाइ छ । चेकजाँच कडा पारिएसँगै अवैध धन्दामा संलग्न तस्कर समूहले वैकल्पिक भित्री सडक प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।
विराटनगरको पुलचोक क्षेत्र पनि मुख्य सडकबाट भित्री मार्गतर्फ जाने संवेदनशील बिन्दु मानिन्छ । प्रहरीको सक्रियतासँगै अवैध धन्दामा संलग्नहरुले विभिन्न शैली अपनाउने गरेका छन् ।
प्रहरीले ४२० किलो गाँजा बरामद हुनुलाई ठूलो सफलता मानेको छ । ‘सुरक्षाकर्मी निर्वाचनतिर व्यस्त भएको मौका छोपेर अवैध धन्दा चलाउनेहरु सक्रिय भएको पाइन्छ । तर, प्रहरीले सबैतिर ध्यान दिएर शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने र अपराध नियन्त्रण गर्ने काम गरिरहेको छ,’ एसपी कटवालले भने ।
उनका अनुसार निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पार्दै कानुनविपरीतका गतिविधि नियन्त्रणमा लिन प्रहरी सक्रियता बढाइएको छ । प्रहरीले गाडीको दर्ता विवरण, स्वामित्व र सम्भावित नेटवर्कबारे छानबिन थालिसकेको उनले बताए ।
चालकको पहिचान खुल्न बाँकी रहे पनि गाडीको नम्बरका आधारमा मालिकसम्म पुग्ने प्रक्रिया सुरु भएको छ । घटनासँग सम्बन्धित प्रमाण अध्ययन गरेर चालकको हुलिया पत्ता लगाउने र पक्राउ गर्ने तयारी भइरहेको प्रहरी स्रोतले बतायो ।
प्रहरीले गाँजा ओसारपसारमा संगठित गिरोह नै सक्रिय भएको हुनसक्ने आशंका गरेको छ । यति ठूलो परिमाणमा गाँजा ओसारपसार हुँदा एउटा चालक मात्र नभई सञ्जालगत रूपमा नै काम भइरहेको हुनसक्ने प्रहरीको अनुमान हो ।
एसपी कटवालले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउँदै अवैध धन्दामा सक्रिय गिरोहविरुद्ध प्रहरी निर्मम रुपमा प्रस्तुत भइरहेको जानकारी दिए । ‘यस्तो अवैध धन्दा नियन्त्रण गर्न प्रहरी पूर्ण रूपमा प्रतिबद्ध छ । जोकोही संलग्न भए पनि कानुनी दायरामा ल्याइन्छ,’ उनले भने ।