कांग्रेसको चुनावी प्रतिबद्धता जनकपुरबाट सार्वजनिक हुने

विराटनगर । नेपाली कांग्रेसले आज (आइतबार) सार्वजनिक गर्ने भनिएको आफ्नो चुनावी प्रतिज्ञापत्र कार्यक्रम सार्दै बुधबार जनकपुरधाममा सार्वजनिक गर्ने भएको छ ।

यसअघि आइतबार पार्टी कार्यालय बीपी स्मृति भवन सानेपामा कार्यक्रम तय गरिएको थियो । तर, संशोधित तालिकाअनुसार अब मधेश प्रदेशको जनकपुरधाममा आयोजना हुने चुनावी सभामै प्रतिज्ञापत्र सार्वजनिक गरिनेछ ।

पार्टी प्रवक्ता देवराज चालिसेले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी दिँदै निर्वाचन आयोगमा भने आइतबार नै प्रतिज्ञापत्र बुझाइने स्पष्ट पारे । उनका अनुसार फागुन ६ गते जनकपुरधामबाट सुरु हुने चुनावी सभासँगै कांग्रेसले आफ्नो आधिकारिक चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेको हो ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई आइतबारसम्म घोषणापत्र पेस गर्न समय दिएको छ । सोही समयसीमाभित्र कांग्रेसले प्रतिज्ञापत्र आयोगमा दर्ता गराउनेछ । सार्वजनिक कार्यक्रम भने जनकपुरको सभामा सारिएको कांग्रेसले जनाएको छ ।