मुख्यमन्त्री कार्कीद्वारा महाशिवरात्री र सेना दिवसको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाशिवरात्री तथा नेपाली सेना दिवसका अवसरमा शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको अवसरले नेपाली समाजमा एकता, अनुशासन र सहअस्तित्वको सन्देश प्रवाह गर्ने विश्वास उनले व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आइतबार जारी गरेको शुभकामना सन्देशमा महाशिवरात्री हिन्दु धर्मावलम्बीहरूको मात्र महानसँगै सत्य, संयम, सहिष्णुता र सकारात्मक ऊर्जाको प्रतीकका रूपमा स्थापित पर्व भएको उल्लेख गरे ।

उनले भगवान शिवको उपासना, तप, त्याग, करुणा र सहअस्तित्वको शिक्षाले समाजलाई नैतिक, आध्यात्मिक र सामाजिक रूपमा सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको शिव उपासना कर्मकाण्डमा सीमित नरही व्यवहारिक जीवनमा पनि अनुशासन, सहकार्य र सहिष्णुताको अभ्यासमा रूपान्तरण हुनुपर्ने धारणा उनको धारणा छ ।

महाशिवरात्री पर्वले नेपाली समाजमा विविधता बीचको एकता सुदृढ गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले यस प्रकारका मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै सांस्कृतिक पहिचानलाई बलियो बनाउने बताए । नेपाली समाजको बहुलता, भाषा–संस्कृति र परम्परागत मूल्यहरूको संरक्षण र प्रवर्धनमा यस्ता पर्वहरूको महत्वपूर्ण योगदान रहेको उनले स्मरण गराएका छन् ।

मुख्यमन्त्री कार्कीले सन्देशमार्फत प्रदेश सरकारले २०८२ साललाई àकोशी पर्यटन वर्ष’ घोषणा गरिसकेको जानकारी दिँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन र प्रचारप्रसारमा विशेष जोड दिइएको बताए । उनले मौलिक पर्व, धार्मिक उत्सव र सांस्कृतिक कार्यक्रमहरूलाई व्यवस्थित र आकर्षक रूपमा सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गरे ।

पर्यटन क्षेत्रको विकासले प्रदेशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले सबै सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेको बताए । प्रदेश सरकारले स्थापना कालदेखि नै सबै धर्म, संस्कृति र परम्परागत पर्वहरूको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गर्दै कार्कीले विविधतायुक्त समाजका मूल्य र परम्परालाई सम्मान गर्दै अघि बढिरहेको स्पष्ट पारेका छन् ।

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र समान सम्मानको अभ्यासलाई संस्थागत गर्दै प्रदेशलाई समावेशी र सुदृढ बनाउने लक्ष्य रहेको उनको भनाइ छ । यसै अवसरमा उनले नेपाली सेना दिवसको पनि शुभकामना व्यक्त गर्दै नेपाली सेनाले नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न खेलेको भूमिका अतुलनीय रहेको बताए ।

इतिहासका विभिन्न चरणमा राष्ट्र संकटमा पर्दा अग्रपङ्क्तिमा उभिएर नेपाली सेनाले देखाएको साहस, अनुशासन र समर्पण राष्ट्रका लागि प्रेरणादायी रहेको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न विकास निर्माण, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा सामाजिक सेवा जस्ता क्षेत्रमा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए ।

राष्ट्र र जनताको सेवामा सधैं अग्रसर रहने सेनाको त्याग र अनुशासनले नयाँ पुस्तालाई पनि सकारात्मक मार्गदर्शन दिने विश्वास उनले व्यक्त गरेका छन् । उनले महाशिवरात्री र नेपाली सेना दिवसले सम्पूर्ण नेपालीहरूमा देशप्रेम, सहकार्य, सामाजिक सद्भाव र आध्यात्मिक चेतनाको भावना अभिवृद्धि गर्न सकोस् भन्ने कामना गरेका छन् ।

धार्मिक आस्था, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउँदै कोशी प्रदेशलाई समृद्ध र सुदृढ प्रदेशका रूपमा स्थापित गर्न सबै नागरिक एकजुट हुनुपर्ने उनको धारणा छ ।