टी–२० विश्वकपअन्तर्गत आइतबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपाल ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमै १ विकेट गुमाउँदै सहज रूपमा पूरा गरेको हो।
वेस्ट इन्डिजका लागि शाई होपले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतक बनाए। सिमरोन हेटमायरले ४६ रनको योगदान दिँदा ब्रान्डन किंग्सले २२ रन जोडे। नेपालका लागि नन्दन यादवले एक मात्र विकेट लिए भने अन्य बलरले सफलता हात पार्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रन बनाए। सोमपाल कामीले २६ रन जोड्दा लोकेश बमले १३ रन बनाए।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार विकेट लिएर नेपालको मध्यक्रम धराशायी पारे। साथै अकेल हुसेन, म्याथु फोर्ड, समार जोसेफ र रोस्टोन चेसले समान एक–एक विकेट लिए।
यस जितसँगै वेस्ट इन्डिज प्रतियोगिताको सुपर आठ चरणमा प्रवेश गरेको छ भने नेपाल समूह चरणबाट बाहिरिएको छ।