नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले आफ्नो विगतको चुनावी रणनीति बदलेका छन् ।
यसअघिका निर्वाचनमा केही र निश्चित स्थानमा सभा र मतदाता भेटघाट गरेर चुनाव जित्दै आएका ओलीले यसपटक भने आफ्नो चुनावी रणनीति बदल्दै सबै मतादातासँग प्रत्यक्ष संवाद र भेटघाट गर्ने रणनीति अपनाएका हुन् ।
बदलिएको चुनावी रणनीति अन्तर्गत ओली सकभर आफैँ मतदाताका घर र टोलमा पुग्ने र गुनासा सुन्ने योजनामा छन् । उनले आफू पुग्न नसकेका मतदाताका घरमा निकटका कार्यकर्ता खटाएर उनीहरूका गुनासा सुन्ने र टिपोट गर्न पनि लगाएका छन् ।
झापा ५ का उम्मेदवारहरूमध्ये मुख्यगरी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । बालेनको बढ्दो क्रेजसँगै ओलीलाई झापामा चुनाव जित्न कठिन हुने विश्लेषण भइरहेका बेला ओलीले पनि आफ्नो पुरानो रणनीति बदलेर आफै मतदातामाझ पुग्ने प्रयासमा छन् । प्रतिस्पर्धी शाह दुई चरणमा झापा पुगेर त्यहाँका मतदातासँगको भेटघाटपछि अन्य क्षेत्रमा समेत ‘रोड सो’ मा लागिरहेका बेला ओलीले भने मतदाताको घरदैलो नै रोजेका हुन् ।
माघ ६ मा उम्मेदवारी दर्ता गरेयता ओली प्राय झापामै रहेका छन् । उम्मेदवारी दर्ता गरेर काठमाडौँ फर्केका ओली पुन माघ अन्तिम साता झापा गएका थिए ।
माघ अन्तिम साता झापामा रहँदा ओली झापा ५ का विभिन्न स्थानमा पुगेर मत माग्नुका साथै मतादाताका समस्या सुन्ने काम गरेका थिए । एक साता मतदातामाझ बिताएका ओली केही दिनका लागि काठमाडौँ बसेर आइतबार पुन झापा फर्किसकेका छन् ।
गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौँ आएका ओली आज फेरि झापा फर्केका हुन् । झापा ओर्ले लगत्तै ओलीले शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागिता जनाएका छन् ।
त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।
एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्नेछन् । यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ ।
दाहालका अनुसार मतदाताका सुझाव तथा पार्टीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले ओलीको अनुपस्थितिमा पनि झापामा घरदैलोलाई तीव्र बनाइएको छ । त्यस्ता घरदैलो र भेटघाटमा पार्टीका आफ्नो भूगोलमा रहने केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी, जिल्ला, क्षेत्रीय कमिटीमा रहने सबै पदाधिकारी तथा सदस्यहरू,जनवर्गीय सङ्गठनमा आबद्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, स्थानीय टोल र मतदाताका घरमा पुगेर भेटघाट र छलफललाई जारी राखेको एमालेले जनाएको छ ।
त्यस क्रममा जनताबाट आएका सुझाव र पार्टीले खेल्नु पर्ने भूमिकाका विषयलाई सम्बोधन गरिने जनाइएको छ । झापा ५ को निर्वाचन क्षेत्र अन्तर्गतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर मतदातालाई निर्वाचनमा भाग लिन तथा नेकपा एमालेका उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विजयी गराउन समेत आग्रह गरिएको छ ।
झापाको दमक नगरपालिका ५ स्थित प्रशान्ति टोलमा भेटघाटमा व्यस्त नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला सङ्घ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालका अनुसार आफ्नो क्षेत्रका टोलका प्रत्येक घरमा पुगेर मतदातासँग संवाद गरिएको छ । यस क्रममा धेरै मतदाताले दिएका सुझाव,गुनासा तथा समस्याहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको दाहालले जानकारी दिइन् ।
भेटघाटको क्रममा जनताले दिएको आश्वासन र सुझावले आफूहरूलाई थप उत्साहित बनाएको दाहालको भनाइ छ ।
पार्टीको निर्वाचन रणनीति अन्तर्गत यो क्षेत्रका सबै वडाका सबै टोल कमिटीका एकै पटक एउटै योजना लिएर नेकपा एमालेका हजारौँ कार्यकर्ता परिचालन भएका छन् । यसरी परिचालन भएका कार्यकर्ताले अहिले सामाजिक सञ्जालमा पार्टी र अध्यक्ष ओलीका विरुद्ध फैलाइएका भ्रमहरू चिर्ने काम गरिरहेका छन् ।
सामाजिक सञ्जालमा लेखिने, बोलिने ज्यादै निकृष्ट शब्दहरूले समाजमा नकारात्मक सोचको विकास भइरहेको र यस प्रवृत्तिले विपक्षीप्रति मतदाताहरू थप रुष्ट बनेको पाइएको दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार दमकका प्राय सबै वडाहरूले यो अभियान थाली सकेका छन् । आफ्नो टोलमा कुनै पनि उच्छृङ्खल गतिविधि र भ्रामक प्रचार गरेर दुर्घटना हुन नदिने गरी समाजमा एक आपसमा सद्भाव र मित्रवत् व्यवहार कायम राख्न सबैमा अनुरोध समेत गरिएको घरदैलोका सहभागीहरू बताउँछन् ।