‘एआईको उदय’ : विकाससँगै गहिरिँदो चिन्ता

पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) सकारात्मक आविष्कारभन्दा बढी विवाद र चिन्ताका कारण चर्चामा आएको छ। प्रविधिको दुरुपयोगका घटनाहरू बढ्दै गएका छन्—‘डिपफेक’ मार्फत ठगी, एआई प्रयोग गरी सञ्चालन गरिएका साइबर आक्रमण, र केही च्याटबोटहरूले प्रयोगकर्तालाई आत्महत्यातर्फ उक्साएको आरोपले समाजमा गम्भीर प्रश्न खडा गरेका छन्।

यसैबीच, प्रविधि क्षेत्रभित्रैबाट सावधानीका स्वर उठ्न थालेका छन्। विश्वका ठूला एआई कम्पनीमा कार्यरत केही अनुसन्धानकर्ताले हालै पद त्याग्दै, तीव्र गतिमा भइरहेको विकासले नियन्त्रणको सीमाना पार गर्न सक्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, पर्याप्त सुरक्षा मापदण्ड र कडा नियमनबिना एआईको विस्तार दीर्घकालमा घातक हुन सक्छ।

विशेषगरी ‘आर्टिफिसिपयल जनरल इन्टेलिजेन्स’ (एजीआई)—मानिससरह सोच्न र निर्णय गर्न सक्ने प्रणाली—को सम्भावित विकासबारे बहस झनै चर्किएको छ। आलोचकहरूका अनुसार यस्ता प्रविधि पर्याप्त नियन्त्रण र नैतिक ढाँचाविना अघि बढे मानव समाजकै अस्तित्वमा चुनौती खडा हुन सक्छ।

एआई क्षेत्रमा अर्बौँ डलरको लगानी भइरहेका बेला, सुरक्षा र नैतिकता सुनिश्चित गर्ने जिम्मेवारी बोकेका व्यक्तिहरूले नै असन्तुष्टि जनाउँदै बाहिरिनु नियमन र उत्तरदायित्वसम्बन्धी प्रश्नलाई अझ जटिल बनाइरहेको छ। अब प्रश्न उठेको छ—के प्रगतिको दौडमा हामी सुरक्षा र सन्तुलन बिर्सिरहेका त छैनौँ?