जनता समाजवादी पार्टी नेपाल बाट प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बनेका श्रीनिवास यादव ले पार्टी त्याग गरी नेकपा एमाले प्रवेश गरेका छन्।
जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका यादवले भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत आफूले पार्टी छोडेर एमाले रोजेको जानकारी दिएका हुन्। उनले जनतासँगको भेटघाटका क्रममा रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताको झुकाव एमालेतर्फ देखिएको निष्कर्षमा आफू पुगेको बताए। साथै वर्तमान राष्ट्रिय परिस्थितिमा राष्ट्रियताको रक्षा र राजनीतिक स्थायित्वका लागि एमाले नै सक्षम शक्ति रहेको भन्दै उनले उक्त निर्णय लिएको उल्लेख गरे।
पत्रकार सम्मेलनपछि उनले विज्ञप्ति जारी गर्दै आजकै मितिबाट जसपाको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट अलग हुँदै आफ्नो उम्मेदवारी समेत फिर्ता लिएको घोषणा गरेका छन्। उनले एमालेको नीति तथा सिद्धान्तअनुसार पार्टी उम्मेदवारको पक्षमा जनमत निर्माणमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
यादवको एमाले प्रवेशलाई पार्टीका नेताहरूले स्वागत गरेका छन्। उनलाई रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार वासुदेव घिमिरे, क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोद कुमार यादव, एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गुमादेवी आचार्य तथा जिल्ला अध्यक्ष यज्ञ गैरे लगायतले स्वागत गरेका थिए।
यादवको समर्थनपछि क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार घिमिरेले आफ्नो जितको सम्भावना अझ बलियो बनेको प्रतिक्रिया दिएका छन्। उक्त क्षेत्रमा करिब १ लाख ४० हजारभन्दा बढी मतदाता रहेका छन्।
त्यसैगरी एमाले जिल्ला अध्यक्ष गैरेले यादवको पार्टी प्रवेशले अन्य क्षेत्रको तुलनामा कमजोर मानिएको क्षेत्र नम्बर ४ मा पनि पार्टी सशक्त बनेको दाबी गरे। क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोद कुमार यादव यसअघि २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस बाट निर्वाचित भएका थिए भने २०७९ सालमा पराजित भएका थिए। यसपटक कांग्रेसबाट टिकट नपाएपछि उनी एमाले प्रवेश गरी उम्मेदवार बनेका हुन्।