मिथिला मध्यमा परिक्रमा सुरु

विराटनगर । मिथिला क्षेत्रको महाकुम्भ मानिने १५ दिने ‘मिथिला मध्यमा परिक्रमा’ आज सोमबारदेखि विधिवत् रूपमा सुरु भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कचुरी मठबाट भगवान् रामको डोला निस्केसँगै १३३ किलोमिटर लामो यो धार्मिक पदयात्रा आरम्भ भएको हो।

आज कचुरीबाट निस्केको डोला जनकपुरधामको रत्नसागर हुँदै अग्निकुण्ड पुग्नेछ, जहाँ किशोरीजी (माता सीता) को डोला पनि सहभागी हुनेछ। त्यसपछि दुवै डोलाहरू हनुमाननगर पुगेर रात्रि विश्राम गर्नेछन्। भोलि मङ्गलवार बिहान हनुमाननगरबाट डोला निस्केपछि यो पदयात्रा औपचारिक रूपमा भारतको कल्याणेश्वरतर्फ अघि बढ्नेछ।

परिक्रमाका क्रममा श्रद्धालुहरूले नेपालका १३ र भारतका २ गरी कुल १५ वटा धार्मिक स्थलहरूको पैदल यात्रा गर्नेछन्। यस यात्रामा नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २६ किलोमिटर भूभाग पर्दछ। हनुमाननगर पछि पदयात्रीहरू भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै पुनः नेपालको महोत्तरीस्थित मटिहानी, जलेश्वर, मडई र ध्रुवकुण्ड पुग्नेछन्। त्यसपछि कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर र औरही हुँदै पुनः भारतको करुणा र विशौल पुगेर १४ औँ दिनमा जनकपुरधाम फर्किने तालिका छ।

१५ औँ दिनमा जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि यो महायात्रा समापन हुनेछ। परम्परा अनुसार अन्तरगृह परिक्रमाको भोलिपल्ट मिथिलामा होली पर्व मनाइन्छ। तर, यस पटक आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण यो धार्मिक यात्रा प्रभावित हुने देखिएको छ। निर्वाचनलाई लक्षित गरी सीमा नाकाहरू ७२ घण्टा अगावै बन्द गरिने भएकाले भारतबाट आउने र भारततर्फ जाने श्रद्धालुहरूलाई समस्या पर्न सक्ने आकलन गरिएको छ।