सर्लाहीमा गोली काण्ड : इन्जिनियरको मृत्यु

सर्लाहीको सदरमुकाम मलङ्गवामा आइतबार राति गोली प्रहारबाट एक इन्जिनियरको हत्या भएको छ। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो। सिरहाको सुखिपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका यादवलाई आइतबार राति करिब ८ बजेतिर मलङ्गवा नगरपालिका–१० देवीटोलस्थित डेराबाहिर गोली प्रहार गरिएको बताइएको छ।

छातीमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार प्रारम्भिक जानकारीअनुसार अज्ञात व्यक्तिले फोन गरेर यादवलाई डेराबाहिर बोलाएपछि गोली प्रहार गरेको बुझिएको छ।

घटनापछि मलङ्गवा क्षेत्रका चारैतिर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी आक्रमणकारीको खोजी तीव्र पारिएको सर्लाही प्रहरीले जनाएको छ। साथै घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा समेत निगरानी बढाई ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।