ताप्लेजुङमा मतपत्रबाहेकका निर्वाचन सामग्री भित्रियो

ताप्लेजुङमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पठाउने तयारी सुरु गरिएको छ। निर्वाचन आयोगले पठाएका सामग्रीलाई जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रसम्म पुर्‍याउनका लागि प्याकिङ कार्य थालेको हो।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज (विपिन) दुलालका अनुसार मतदान केन्द्रमा पठाइने सामग्रीलाई व्यवस्थित रूपमा तयारी गर्दै प्याकिङ सुरु गरिएको छ। त्यस्तै जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले मतपत्रबाहेक अधिकांश निर्वाचन सामग्री आयोगबाट प्राप्त भइसकेको जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आयोगले मतपेटिका सुरक्षण सामग्री, स्ट्याम प्याड, नउड्ने मसीको मार्कर, स्ट्याम प्याडको मसी, स्वस्तिक छाप, छेकाबारा, मतदाता नामावली तथा निर्वाचनसँग सम्बन्धित ऐन, नियम र निर्देशिकाका प्रतिहरू पठाइसकेको छ। प्राप्त सामग्री रुजु गर्ने र सम्बन्धित मतदान केन्द्रमा पठाउने उद्देश्यले प्याकिङ कार्य अघि बढाइएको कार्यालयले जनाएको छ।

ताप्लेजुङ जिल्लामा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन्। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ९० हजार ३ सय २७ मतदाता कायम भएका छन्। यद्यपि मतपत्र भने अझै प्राप्त हुन बाँकी रहेको कार्यालयले जनाएको छ।

यस निर्वाचनमा जिल्लाबाट १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।