पर्सा–१ मा उम्मेदवारमाथि हमला : पिपुल फ्रष्ट पार्टीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा प्रचार–प्रसारका क्रममा उम्मेदवार जावेद एकवाल हैदरमाथि भएको सांघातिक हमलाप्रति पिपुल फ्रष्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ। पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई दुर्भाग्यपूर्ण र लोकतान्त्रिक अभ्यासमाथिको प्रहारका रूपमा व्याख्या गर्दै घोर निन्दा गरेका छन्। विज्ञप्तिमा निर्वाचनको संवेदनशील अवधिमा उम्मेदवारमाथि भएको हमला निष्पक्ष, तटस्थ र स्वच्छ प्रतिस्पर्धाको वातावरणविरुद्ध भएको उल्लेख गरिएको छ।

संयोजक सिंहले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी छानबिनमार्फत तुरुन्त कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै, घाइते उम्मेदवारको प्रभावकारी उपचार र पूर्ण सुरक्षाको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।

पार्टीले निर्वाचन आयोग, निर्वाचन कार्यालय तथा सुरक्षा निकायलाई घटनाप्रति विशेष ध्यान दिन अनुरोध गर्दै उम्मेदवारमाथि हुने कुनै पनि प्रकारको हिंसा लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्‍याउने चेतावनी दिएको छ। यस्ता गतिविधि दोहोरिन नदिन कडा कदम चाल्नुपर्नेमा पार्टीले जोड दिएको छ। घटनापछि पर्सा–१ क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने तथा प्रचार–प्रसारका कार्यक्रमहरूमा उच्च सतर्कता अपनाउने तयारी भइरहेको जनाइएको छ।