विराटनगर। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने प्रलोभन देखाई ६५ लाख ३३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा झापा अर्जुनधाराका ५१ वर्षीय धर्मप्रसाद राई र ४२ वर्षीय गोविन्दप्रसाद निरौला, काठमाडौँ तारकेश्वरकी ३५ वर्षीया निमा डोल्मा लामा र गोरखा गण्डकी गाउँपालिकाका ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका छन्। उनीहरूले अष्ट्रिया, बेलायत, टर्की र रोमानिया पठाउने भन्दै पीडितहरूबाट मोटो रकम असुल गरेर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये निमा डोल्मा लामाले मात्रै बेलायत पठाउने नाममा ५० लाख रुपैयाँ ठगी गरेकी छिन्। त्यस्तै, सुरजबहादुरले साढे ७ लाख, धर्मप्रसादले ५ लाख ८५ हजार र गोविन्दप्रसादले २ लाख ३ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।
पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ। वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अघि बढाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।