काठमाडौँ । नेपाली बजारमा पछिल्ला दिनदेखि सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। मंगलबार पनि सुनको मूल्य घट्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो। यससँगै सुनको नयाँ मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ।
महासङ्घका अनुसार यसअघि सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसले दुई दिनमै सुनको मूल्य उल्लेखनीय रूपमा घटेको देखाउँछ। मंगलबारका लागि सुनको १० ग्रामको मूल्य २ लाख ५८ हजार ८३० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।
यसैबीच, चाँदीको मूल्य भने बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भई ४ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घका अनुसार मंगलबार चाँदीको १० ग्रामको मूल्य ४ हजार १ सय ८८ रुपैयाँ कायम गरिएको छ।
सुनको मूल्य घट्दा बजारमा खरिदकर्ताको चासो बढ्ने अपेक्षा गरिएको छ भने चाँदीको मूल्य वृद्धिले चाँदी कारोबारमा पनि चहलपहल बढाउने अनुमान गरिएको छ।