धरान । सुनसरी को धरान क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलबार राति नियमित चेकजाँचका क्रममा प्रहरीले करिब एक टन अर्थात् ९५५ किलोग्राम गाँजा फेला पारेको हो।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएका दुईवटा सवारीसाधन नियन्त्रणमा लिनुका साथै दुवै गाडीका चालकलाई पक्राउ गरेको जनाएको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार धरान उपमहानगरपालिका–२० बरडाँडामा शंकास्पद अवस्थामा रहेका सवारीसाधन रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो। चाँदी बजारबाट विष्णुपादुकातर्फ जाँदै गरेका गाडीहरूलाई रोकि तलासी गर्दा उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ३३ वटा पोकामा राखिएको ४९५ किलोग्राम गाँजा फेला परेको छ। उक्त गाडीका चालक बारा जिल्लाको कोल्हवी नगरपालिका–८ का ३३ वर्षीय सन्दीपकुमार माझी पक्राउ परेका छन्।
त्यसैगरी, बा एसी ३२३६ नम्बरको अर्को गाडीबाट २३ वटा पोकामा राखिएको ४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। सो गाडीका चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधनबाट बरामद गरिएको गाँजाको कुल परिमाण ९५५ किलोग्राम रहेको प्रहरीले स्पष्ट पारेको छ।
बरामद गाँजा, दुवै सवारीसाधन तथा पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय धरान मा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध लागुऔषधसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको पनि प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार गाँजा कहाँबाट ल्याइएको हो र कता लैजान खोजिएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ। साथै, यसमा संलग्न सम्भावित गिरोह, ओसारपसार सञ्जाल तथा आर्थिक कारोबारका पक्षबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।