काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आउँदै गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सम्पूर्ण नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्। शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होछारको अवसरमा मंगलबार शीतल निवासमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत अभिव्यक्त गर्ने सबैभन्दा प्रभावकारी र वैधानिक माध्यम निर्वाचन भएको उल्लेख गर्दै फागुन २१ गते हुने निर्वाचनमा उत्साहका साथ सहभागी हुन सबैमा आह्वान गरे। उनले मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्न सुशासन तथा आर्थिक समृद्धि अनिवार्य रहेको धारणा व्यक्त गरे।
शेर्पा समुदायको योगदानको प्रशंसा गर्दै राष्ट्रपति पौडेलले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानमार्फत शेर्पा समुदायले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताए। हिमाली क्षेत्रबाट विश्वका विभिन्न स्थानमा पुगेर शेर्पा समुदायले नेपालको गौरव बढाएकोमा उनले खुशी व्यक्त गरे।
नेपालका मौलिक चाडपर्वहरूले आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको भावना अझ मजबुत बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए। शेर्पा समुदायले यस वर्ष ग्याल्पो ल्होछार फागुन ६ गते मनाउँदैछन्।