काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ। सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकांक (एक्युआई) मंगलबार मध्याह्नसम्म १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा रहेका छन्।
तथ्यांकअनुसार हाल उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ। एयर क्वालिटी इन्डेक्सका आधारमा आज काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा परेको छ। भारतको दिल्ली पहिलो र पाकिस्तानको लाहोर दोस्रो स्थानमा रहेका छन्।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हाल वर्षा नभएकाले प्रदूषणको मात्रा अझ बढ्न सक्ने बताएका छन्। उनका अनुसार वर्षाले वातावरणमा रहेका धुलो तथा सूक्ष्म कणलाई जमिनमा झार्न सहयोग गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम कायम रहँदा वायु प्रदूषण तीव्र हुने सम्भावना रहन्छ। उनले दिगो तथा वातावरणमैत्री विकासका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको जानकारी दिए।
वातावरण अभियन्ता वर्षा पराजुलीले उपत्यकामा बढ्दो सवारीसाधन, पेट्रोल तथा डिजेलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार आयोजनाबाट उड्ने धुलो, वन डढेलो र सुक्खा मौसमलाई प्रदूषण बढ्नुका प्रमुख कारणका रूपमा औंल्याइन्। समयमै नियन्त्रणका उपाय अवलम्बन नगरे अवस्था थप जटिल बन्न सक्ने उनले चेतावनी दिइन्।
एयर क्वालिटी इन्डेक्सअनुसार ० देखि ५० सम्मको एक्युआई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म सचेत रहनुपर्ने अवस्था जनाउँछ। १०१ देखि १५० अस्वस्थ, १५१ देखि २०० सबैका लागि अस्वस्थ, २०१ देखि ३०० धेरै अस्वस्थ तथा ३०० भन्दा माथिको अवस्था अत्यन्तै खतरनाक मानिन्छ।
काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई सरकारले विपद्का रूपमा लिने व्यवस्था छ। यस्तो अवस्थामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइमा ब्रुमर तथा भ्याकुम प्रयोग बढाउने, साथै बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु प्रदूषण नियन्त्रणका लागि जल, वायु, माटो, ध्वनि तथा रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्ने रणनीति तय गरेको छ। साथै प्रमुख सहर तथा औद्योगिक क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल तथा ध्वनि प्रदूषणको नियमित अनुगमन गर्ने योजना पनि समेटिएको छ।