काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालत ले प्रमाण कागजात झिकाउन आदेश दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आवश्यक प्रमाण तथा कागजात झिकाउन निर्देशन दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। आयोगले पौडेलकी पत्नी एलिना बस्नेतलाई रकम लुकाउन सहयोग गरेको आरोप लगाउँदै प्रतिवादी बनाएको छ।
अनुसन्धानका क्रममा पौडेलले नेपाल बाहिर United Overseas Bank तथा Bank of America का खातामा रकम जम्मा गरेको दाबी गरिएको छ। आयोगले पौडेलसँगै उनकी पत्नी एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल र आमा शितल पौडेललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको जनाएको छ।
पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्र मा इञ्जिनियरको रूपमा कार्यरत थिए। आयोगका अनुसार उनले आपूर्तिकर्ताबाट लिएको कमिसन रकम परिवारका सदस्य तथा विभिन्न व्यक्तिको नाममा प्रयोग गरेको आशंका गरिएको छ।