निर्वाचन नजिकिँदा वैदेशिक रोजगारीका लागि आवेदन बढ्दो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा ठूलो संख्यामा नेपाली नागरिक वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन्। पछिल्लो तथ्यांक अनुसार माघ महिनामा मात्रै ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभाग का अनुसार माघ महिनामा श्रम स्वीकृति लिने मध्ये ६२ हजार १६२ जना पुरुष र ८ हजार ३४१ जना महिला रहेका छन्। उक्त अवधिमा नेपाली श्रमिकहरू १०७ देशमा रोजगारीका लागि जाने तयारीमा रहेका छन्।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्म सात महिनामा वैदेशिक रोजगारीमा जान कुल ४ लाख ७२ हजार ५७७ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने ४ लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका थिए। यस आधारमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या ७ हजार ६९ ले बढी अर्थात् १.५१ प्रतिशतले वृद्धि भएको देखिएको छ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार ५५९ र माघमा ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन्।

माघ महिनामा सबैभन्दा बढी श्रमिक युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, कतार, मलेसियाकुवेत गएका छन्। त्यसैगरी रोमानिया, जापान, साइप्रस, ओमान, बहराइनक्रोएसिया जानेको संख्या पनि उल्लेख्य रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।