काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ले देशमा दुई प्रकारका अतिवाद सक्रिय रहेको बताएको छ। मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समिति संयोजक अग्निप्रसाद सापकोटा ले जनताको आवाज दबाउन आन्दोलनमाथि कठोर दमन गर्ने र राष्ट्रिय सम्पदामाथि आक्रमण गर्ने प्रवृत्ति बढेको बताएका हुन्।
पार्टीले यस्ता गतिविधिले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थायित्व तथा आर्थिक समृद्धिमा गम्भीर असर पार्ने जनाएको छ। जारी विज्ञप्तिमा दुवै अतिवाद राष्ट्रका लागि हानिकारक रहेको उल्लेख गरिएको छ।
देश संवेदनशील परिस्थितिबाट निर्वाचन प्रक्रियातर्फ अघि बढिरहेको भन्दै पार्टीले पछिल्लो आन्दोलनपछि सिर्जित अवस्थालाई सामान्य बनाउन आफूले जिम्मेवार भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ। सरकारले निर्वाचन घोषणा गरेपछि निर्वाचन हुनुपर्ने पक्षमा पार्टी दृढतापूर्वक उभिएको सापकोटाले बताए।
संविधान जारी भएपछि शासकीय सुधार, निर्वाचन प्रणालीको विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र तथा उत्पादन र रोजगारी विस्तार जस्ता विषयहरू अहिले साझा राजनीतिक एजेन्डाका रूपमा स्थापित भएको पार्टीको भनाइ छ।
पार्टीले निर्वाचन विथोल्ने प्रयास हुन सक्ने भन्दै स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न निर्वाचन आयोग ले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएको छ।
निर्वाचनका लागि आफ्नो प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको पार्टीले मतदातालाई सबै दलको नीति तथा कार्यक्रम अध्ययन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरेको छ। साथै उपलब्धिहरूको संरक्षण गर्दै परिवर्तन, स्थायित्व र समृद्धिको पक्षमा उभिन नागरिकलाई आह्वान गरिएको छ।