आधिकारिक लाइनविरुद्ध उम्मेदवारी दर्ता गरेपछि कांग्रेसको कारबाही, १९ जना निष्कासनमा

काठमाडौं । नेपाली कांग्रेस ले पार्टीको आधिकारिक निर्णय उल्लंघन गरेको ठहर गर्दै पूर्वमन्त्री तथा पूर्वराजदूत दीपकुमार उपाध्याय सहित १९ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।

कपिलवस्तु–१ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उपाध्यायका छोरा आशिष शर्माले बागी उम्मेदवारी दिएपछि जिल्ला कार्यसमितिले अनुशासनसम्बन्धी कारबाही प्रक्रिया अघि बढाएको हो। शर्मालाई बागी उम्मेदवार बनाउन सक्रिय भूमिका खेलेको र पार्टीको निर्णय विपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै बाबुछोरासहित अन्य नेतामाथि कारबाही गरिएको जनाइएको छ। कारबाहीअनुसार उनीहरूलाई साधारण सदस्यको हैसियतसमेत नदिइने निर्णय गरिएको छ।

तौलिहवामा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले अनुशासन समितिको सिफारिसका आधारमा निष्कासन गर्ने निर्णय गरेको बताइएको छ। आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गर्ने तथा त्यसलाई समर्थन गर्ने कार्यमा संलग्न रहेको आरोपमा कारबाही गरिएको जिल्ला समितिले जनाएको छ।

जिल्ला कार्यसमितिको निर्णय अनुमोदनका लागि प्रदेश तथा केन्द्रीय अनुशासन समितिमा पठाइने तयारी रहेको पार्टी स्रोतले जानकारी दिएको छ।