बाँके का सीमावर्ती क्षेत्रमा रहेका पसलहरूमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय अण्डा फेला परेको छ। बजार अनुगमनका क्रममा अवैध रूपमा ल्याइएका कुखुराको अण्डा बरामद गरिएको हो।
नेपालगन्ज को जमुनाह क्षेत्रका पसलहरूमा संयुक्त बजार अनुगमन टोलीले छापा मार्दा भारतीय सेतो अण्डा बिक्री भइरहेको भेटिएको जनाइएको छ। नेपाल सरकारले पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको अवस्थामा ती अण्डा अवैध रूपमा बिक्री भइरहेको पुष्टि भएको पशु क्वारेन्टाइन कार्यालय बाँके ले जनाएको छ।
कार्यालयका प्रमुख डा हरेराम यादव का अनुसार अवैध आयात रोक्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नियमित बजार अनुगमन भइरहेको छ। उनले भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ ल्याउन विगत एक दशकदेखि प्रतिबन्ध लाग्दै आएको उल्लेख गर्दै अवैध रूपमा भित्र्याइएका कुखुरा वा अण्डा नेपाल भित्र्याउन पूर्ण रूपमा निषेध गरिएको बताए।
संयुक्त अनुगमन टोलीले १७ भन्दा बढी मासु पसल, होटल तथा खुद्रा व्यवसायमा निरीक्षण गरेको थियो। सो क्रममा केही पसललाई सचेत गराउनुका साथै अवैध रूपमा राखिएका अण्डा जफत गरी नष्ट गरिएको जनाइएको छ। टोलीले १५ क्यारेटभन्दा बढी अण्डा बरामद गरी नष्ट गरेको जानकारी दिएको छ।
अनुगमन टोली अचानक बजारमा पुगेपछि केही व्यवसायीले पूर्वसूचना दिनुपर्ने भन्दै विरोधसमेत गरेका थिए। पशु सेवाविज्ञ केन्द्र, बाँके का वरिष्ठ पशु चिकित्सक डा गणेश पुन ले पूर्वजानकारी दिएमा कमजोरी लुकाउने सम्भावना रहने भएकाले आकस्मिक अनुगमन आवश्यक रहेको बताए।
वरिष्ठ पशु चिकित्सक यादवको नेतृत्वमा गरिएको उक्त अनुगमनका क्रममा केही मासु पसल दर्ताविना सञ्चालन भएको, सरसफाइमा लापरबाही गरिएको, व्यवसाय नवीकरण नगरिएको तथा बिलबिजक व्यवस्थित नराखिएको पनि भेटिएको थियो।
अनुगमन टोलीले व्यावसायिक कुखुरा फार्महरूको समेत निरीक्षण गरेको जनाएको छ। अनुगमनमा विभिन्न सरकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रासस