नेपाली कांग्रेसका सभापति गगन थापा ले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजम (लोकप्रियतावाद) को प्रभावबाट नेपालको लोकतन्त्र जोगाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।
बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वका स्थापित लोकतान्त्रिक मुलुकहरू समेत पछिल्लो समय पपुलिजमको प्रभावमा पर्दै गएको उल्लेख गर्दै यसप्रति चिन्ता व्यक्त गरे।
उनले पपुलिजमको लहर तीव्र रूपमा फैलिँदै गएको उल्लेख गर्दै यसको प्रभावबाट नेपालको लोकतन्त्र जोगाउन सकिने वा नसकिने विषय गम्भीर चुनौतीको रूपमा उभिएको बताए।
सभापति थापाले क्षणिक लोकप्रियता हासिल गर्ने उद्देश्यले गरिने राजनीतिक गतिविधिले लोकतन्त्रको मूल भावना कमजोर बनाउन सक्ने भन्दै त्यसप्रति सचेत रहन आवश्यक रहेको धारणा राखे।
राज्यका संस्थाहरू सुदृढ नभए राष्ट्र असफल हुनेतर्फ संकेत गर्दै उनले ह्वाई नेसन्स फेल पुस्तकको सन्दर्भ उल्लेख गरे। संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले प्रभाव जमाए मुलुकले त्यसको भार थेग्न नसक्ने उनको भनाइ थियो।
लोकतन्त्रलाई दिगो र सुदृढ बनाउन तथा मुलुकलाई सही दिशामा अघि बढाउन बलिया संस्थाहरू निर्माण अपरिहार्य रहेको उनले जोड दिए। – न्युज एजेन्सी नेपाल