विराटनगर । बेलायतको राजपरिवारसँग सम्बन्धित एक संवेदनशील घटनाले अन्तर्राष्ट्रिय राजनीतिमा हलचल मच्चाएको छ ।
बेलायतका राजाका भाइका रूपमा परिचित पूर्वराजकुमार एन्ड्रयु माउन्टव्याटन विन्डसरलाई प्रहरीले पक्राउ गरेको समाचार सार्वजनिक भएको छ । अमेरिकी टेलिभिजन संस्थाले बिहीबार उनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
लन्डनको पश्चिमी क्षेत्र हेर्ने थमेस भेल्ली पुलिसले सार्वजनिक पदमा रहँदा गरिएको भनिएको अनुचित व्यवहारसम्बन्धी उजुरीमाथि अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सन् २०१० मा बालिकाहरूलाई यौन शोषण र वेश्यावृत्तिमा लगाउने अभियोगमा दोषी ठहरिएका अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित कागजातमा पूर्वराजकुमारको नाम उल्लेख भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।
अमेरिकामा एप्स्टिन प्रकरणसँग सम्बन्धित लाखौँ पृष्ठका कागजात सार्वजनिक भएपछि विभिन्न देशका निकायले सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे पुनर्मूल्यांक थालेका छन् । सोही क्रममा बेलायतमा पनि प्रारम्भिक जाँच सुरु गरिएको बताइएको छ ।
बेलायती कानुनअनुसार औपचारिक आरोप पुष्टि नभएसम्म प्रहरीले विस्तृत विवरण सार्वजनिक नगर्ने व्यवस्था छ । प्रहरीद्वारा जारी वक्तव्यमा सार्वजनिक पदमा रहँदा गरिएको भनिएको दुराचारसम्बन्धी आरोपमाथि विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धानको निष्पक्षता कायम राख्न सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख गरिएको छ ।
६६ वर्षीय पूर्वराजकुमारले भने आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएका छन् । यसअघि पनि एप्स्टिनसँगको सम्बन्धबारे आलोचना भएपछि उनी राजकीय जिम्मेवारीबाट पछि हटेका थिए । पछिल्लो घटनाले बेलायती राजसंस्थाको पारदर्शिता र उत्तरदायित्वमाथि पुनः बहस सुरु भएको छ ।