इरानप्रति ट्रम्प कडा: १५ दिनभित्र निर्णय लिन अल्टिमेटम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रमसम्बन्धी सम्झौतामा आउन १५ दिनको समयसीमा दिएका छन्। वासिङ्टन डीसीमा बिहीबार आयोजित शान्ति बोर्डको बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रमबारे ठोस सहमति गर्न चेतावनी दिएका हुन्। निर्धारित समयभित्र सम्झौता नभए इरानले गम्भीर परिणाम भोग्नुपर्ने उनको भनाइ रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ‘१० वा १५ दिन पर्याप्त समय हो। यस अवधिभित्र सम्झौता नभए तेहरानले निकै खराब परिणाम सामना गर्नुपर्नेछ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्वीट्जरल्याण्डको जेनेभामा वार्ता भएको थियो। इरानले वार्तालाई सकारात्मक भने पनि अमेरिकाले भने कुनै ठोस सहमति हुन नसकेको जनाएको छ। इरानले सम्झौताको नयाँ मस्यौदा तयार गर्न थप १५ दिनको समय मागेको बताइएको छ। जेनेभा वार्ताअघि दुवै देशबीच ओमानको मस्कटमा समेत छलफल भएको थियो। अमेरिकाले इरानले युरेनियम समृद्धीकरण पूर्ण रूपमा त्याग्नुपर्ने, लामो दूरीका प्रक्षेपास्त्र कार्यक्रम रोक्नुपर्ने तथा मध्यपूर्वका सशस्त्र समूहहरूलाई समर्थन नगर्नुपर्ने सर्त अघि सारेको छ। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ। साथै प्रक्षेपास्त्र कार्यक्रम वार्ताको विषय हुन नसक्ने र अन्य देशका समूहहरूलाई समर्थन गर्ने विषय आन्तरिक निर्णय भएको इरानी विदेशमन्त्री अब्बास अराक्चीले मस्कट छलफलपछि बताएका थिए। लगातार वार्ता भए पनि सहमति नजुटेपछि अमेरिकाले इरान वरपरको क्षेत्रमा सैन्य उपस्थिति तीव्र रूपमा बढाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेना सम्भावित हमलाका लागि तयारी अवस्थामा राखिएको छ। समाचारहरूका अनुसार सम्भवतः यही साताको अन्त्यतिर अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने अवस्था बनेको र सेनाले राष्ट्रपति ट्रम्पको आदेशको प्रतीक्षा गरिरहेको उल्लेख गरिएको छ। अमेरिकी युद्धपोत यूएसएस अब्राहम लिंकन एक महिनादेखि मध्यपूर्व क्षेत्रमा तैनाथ छ भने अर्को युद्धपोत यूएसएस जेराल्ड आर. फोर्ड हालै त्यहाँ पठाइएको छ। जिब्राल्टर नजिक पुगेको उक्त युद्धपोतले अब्राहम लिंकनसँग समन्वय गर्ने बताइएको छ। दुवै समूहमा विनाशक जहाज, क्रुजर तथा पनडुब्बीहरू समेत समावेश छन्। यसका अतिरिक्त बेलायतस्थित अमेरिकी वायुसेनाका इन्धन बोक्ने दर्जनौं ट्यांकर विमान तथा ५० भन्दा बढी अतिरिक्त लडाकु विमान मध्यपूर्व क्षेत्रमा परिचालन गरिएको छ। प्याट्रियट र थाडजस्ता क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसमेत क्षेत्रमा सारिएको अमेरिकी अधिकारीहरूको दाबी छ, जसले इरानी प्रक्षेपास्त्र अवरोध गर्न सक्ने जनाइएको छ।

अमेरिकी बी–२ बमवर्षक विमानहरू उच्च सतर्कतामा राखिएको बताइएको छ। सम्भावित आक्रमण वा इरानी प्रतिकारको जोखिमलाई ध्यानमा राख्दै रक्षा मन्त्रालयले केही कर्मचारीलाई अस्थायी रूपमा युरोप तथा अमेरिकातर्फ सारिरहेको समाचार सीएनएनले जनाएको छ। गत वर्ष जुलाईमा अमेरिकाले इरानका आणविक संरचनालाई लक्षित गर्दै तीनवटा आणविक भट्टीमा जीबीयू–५७ बम प्रहार गरेको थियो। उक्त आक्रमणपछि ती संरचना पूर्ण रूपमा ध्वस्त भएको अमेरिकाले दाबी गर्दै आएको छ। ट्रम्पले बिहीबारको कार्यक्रममा पनि सोही दाबी दोहोर्‍याएका छन्। तर पछिल्ला भूउपग्रह तस्बिरहरूले इरानले आणविक गतिविधि पुनः सञ्चालन गरिरहेको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही प्रमुख आणविक स्थलहरूमा कंक्रिट संरचना थप मजबुत बनाइएको देखिएको छ। अमेरिकाले आक्रमण गरे कडा प्रत्युत्तर दिने चेतावनी यसअघि नै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत अमेरिकी युद्धपोत डुबाइएको कृत्रिम तस्बिर सार्वजनिक गर्दै इरानसँग त्यस्ता हतियार रहेको दाबी गरेका थिए। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई समेत निशाना बनाउन सक्ने चेतावनी दिएको छ। तनाव बढ्दै जाँदा रूसले भने परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको रोयटर्सले जनाएको छ।