निर्वाचन तयारीका लागि बजेट अभाव नहुने : अर्थमन्त्री

ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोतसाधनको कुनै अभाव हुन नदिने बताएका छन्।

ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै उनले निष्पक्ष, स्वतन्त्र र सफल निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे। उनका अनुसार निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन राज्यका स्रोतसाधनलाई व्यवस्थित र सही ढंगले परिचालन गरिनेछ।

नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अर्थमन्त्री खनालले मुलुक अब राजनीतिक अस्थिरताको बहसभन्दा बाहिर निस्केर आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए। राजनीतिक अन्योल अन्त्य गर्दै देशलाई आर्थिक एजेन्डामा अघि बढाउनु सरकारको सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ थियो।

उनले अघिल्लो सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकारले नीतिगत सुधार अघि बढाइरहेको जानकारी दिए। ती सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

अर्थमन्त्री खनालले देशको अर्थतन्त्र सुदृढ बनाउन सरकारले विभिन्न नीतिगत पहलहरू अघि बढाइरहेको दाबी गर्दै पर्यटनसहित अन्य आर्थिक क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको बताए।

निर्वाचनपछि गठन हुने स्थिर सरकारले आर्थिक विकासका योजनाहरूलाई थप गति दिने विश्वाससमेत उनले व्यक्त गरे।