निर्वाचन निष्पक्ष बनाउन आचारसंहिता पालना गर्न निर्देशन

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै सरोकारवाला पक्षले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिइएको छ।  कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको दुईदिने ‘पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण’ तालिमको उद्घाटन सत्रमा वक्ताहरूले निर्वाचनको विश्वसनीयता कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण रहने बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन लोकतन्त्र र संविधानको संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले निर्वाचनलाई स्वच्छ र व्यवस्थित बनाउन सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने उल्लेख गरे।

मन्त्री पराजुलीले समाजमा भ्रम फैलाउने तथा सामाजिक सद्भाव कमजोर बनाउने गतिविधिविरुद्ध जिम्मेवार पत्रकारिताले प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिए। कार्यक्रममा सहभागी अन्य वक्ताहरूले भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सञ्चारमाध्यम र पत्रकारले तथ्यपरक सूचना प्रवाहमार्फत मतदातालाई सुसूचित बनाउनुपर्ने धारणा राखेका थिए। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले दुई दिनसम्म सञ्चालन हुने तालिममा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता तथा पत्रकारले पालना गर्नुपर्ने नैतिक आचरणबारे विस्तृत छलफल गरिने जानकारी दिए। उनका अनुसार प्रशिक्षणले निर्वाचन अवधिमा जिम्मेवार र व्यावसायिक पत्रकारिता प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।