काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यका साथ टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। डिजिटल माध्यमको बढ्दो प्रयोगलाई निर्वाचन सचेतनासँग जोड्दै युवापुस्तालाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ। प्रतियोगितामार्फत निर्वाचनसम्बन्धी सकारात्मक सन्देश व्यापक रूपमा प्रवाह गर्ने अपेक्षा गरिएको छ। आयोगका अनुसार सहभागीहरूले निर्वाचनको महत्व, मतदान गर्ने सही तरिका, मतदाताको अधिकार र कर्तव्य, उम्मेदवार छनोटका आधार तथा निर्वाचन आचारसंहितासम्बन्धी विषय समेटेर अधिकतम एक मिनेट अवधिको मौलिक भिडियो तयार गर्नुपर्नेछ। भिडियो संवादमूलक, सन्देशप्रधान तथा आफ्नै मौलिक अडियो र अभिनयमा आधारित हुनुपर्ने प्रावधान राखिएको छ।
प्रतियोगितामा प्राप्त भिडियोहरूमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने र सन्देशका दृष्टिले प्रभावकारी ठहरिने तीन उत्कृष्ट भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ तथा तृतीय हुनेले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। आयोगले भिडियोको मूल्याङ्कन गर्दा गुणस्तर, प्रस्तुति शैली, अभिनय, मौलिकता तथा समाजमा पार्ने सकारात्मक प्रभावलाई मुख्य आधार बनाइने जनाएको छ।
सहभागीहरूले तयार पारेका भिडियो टिकटकसहित अन्य सामाजिक सञ्जालमा अपलोड गरी त्यसको लिंक फागुन १७ गतेभित्र आयोगको आधिकारिक इमेलमार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ। एक व्यक्तिले एउटै विषयमा एउटा मात्र भिडियो पेश गर्न पाउने नियम पनि तय गरिएको छ। उत्कृष्ट ठहरिएका भिडियोहरू आयोगका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्ममार्फत पुनः प्रसारण गर्ने तयारी गरिएको छ। सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत निर्वाचन शिक्षा विस्तार गर्ने प्रयासस्वरूप सञ्चालन गरिएको यो अभियानले मतदाता सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।