रास्वपाद्वारा भैरहवा र पोखराका जनसभा स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा आयोजना गर्ने भनिएको संयुक्त जनसभा कार्यक्रम स्थगित गरेको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को संयुक्त सम्बोधन रहने गरी फागुन ९ गते भैरहवामा र फागुन १० गते पोखरामा जनसभा तय गरिएको थियो। तर ‘विशेष कारण’ देखाउँदै दुवै कार्यक्रम हालका लागि स्थगित गरिएको पार्टीले जनाएको छ। पार्टीकी सहप्रवक्ता प्रतिभा रावलद्वारा जारी सूचनामा भैरहवाको अञ्चलपुर प्रदर्शनीस्थल र पोखराको अमरसिंह चौरमा आयोजना हुने कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ। ती सभाहरूमा पार्टीका शीर्ष नेतृत्वले समसामयिक राजनीतिक विषय तथा पार्टीका भावी योजना प्रस्तुत गर्ने तयारी गरिएको थियो। रास्वपाले कार्यक्रम पुनः कहिले आयोजना गरिने भन्नेबारे भने हालसम्म कुनै नयाँ मिति सार्वजनिक गरेको छैन।