इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोक चौधरीको अभिव्यक्तिलाई लिएर इटहरीमा चुनावी वातावरण तनावपूर्ण बनेको छ।
इटहरी जेसीजद्वारा आयोजित उम्मेदवारहरूबीचको संवाद कार्यक्रममा सम्बोधन गर्ने क्रममा चौधरीले दिएको टिप्पणीपछि सहभागीहरूबीच विवाद उत्पन्न भएको हो। कार्यक्रमका क्रममा उनले रास्वपालाई दुई तिहाइ बहुमत नदिने तथा ‘घण्टी’ चुनाव चिह्नमा मतदान नगर्ने मतदातालाई ‘देशविरोधी’ र ‘राष्ट्रघाती’को संज्ञा दिएका थिए।
उनले परिवर्तनका लागि रास्वपालाई बहुमत दिलाउन मतदातालाई आग्रह गर्दै अन्यथा अस्थिर सरकारलाई समर्थन हुने धारणा व्यक्त गरेका थिए। उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कार्यक्रममा उपस्थित युवा तथा अन्य दलका प्रतिनिधिहरूले तत्काल विरोध प्रदर्शन गरेका थिए।
विरोधस्वरूप सहभागीहरूले नाराबाजी गर्दै मञ्च घेराउ गरेपछि कार्यक्रमस्थल केहीबेर तनावग्रस्त बनेको थियो। सोही क्रममा अर्का उम्मेदवार घनश्याम गुरुङले मञ्चबाटै प्रतिक्रिया दिँदै प्रतिस्पर्धी उम्मेदवार तथा मतदाताप्रति अपमानजनक टिप्पणी गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको बताए। उनले मतदाताको सम्मान गर्नुपर्नेमा जोड दिँदै यस्तो अभिव्यक्तिमाथि प्रश्न उठाए।
नाराबाजी र होहल्लाका कारण कार्यक्रम केही समय अवरुद्ध भएको थियो। स्थिति थप तनावपूर्ण बन्न सक्ने आकलनपछि त्यहाँ खटिएको प्रहरी टोलीले उम्मेदवार चौधरीलाई सुरक्षा घेराभित्र राख्दै कार्यक्रमस्थलबाट बाहिर निकालेको जनाएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका राजीव कोइराला, नेकपा एमालेका सुजन लामा तथा नेकपाकी रामकुमारी चौधरीलगायत उम्मेदवारहरूको उपस्थिति रहेको थियो। उनीहरूले लोकतान्त्रिक प्रतिस्पर्धाका क्रममा मर्यादित र जिम्मेवार भाषा प्रयोग गर्नुपर्नेमा जोड दिँदै घटनाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।