कार्कीको निर्देशन : निर्वाचन प्रभावकारी बनाऔँ

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा पुगेर पूजा–आराधना गरेकी छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेकी उनले १०८ धारामा जलसेचन गर्दै मन्दिरमा दर्शन गरेकी हुन्। प्रधानमन्त्री कार्कीलाई मन्दिर परिसरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल तथा स्थानीय प्रतिनिधिहरूले स्वागत गरेका थिए। मन्दिरतर्फ करिब २०० मिटर पैदल यात्रा गर्ने क्रममा उनले स्वदेशी तथा विदेशी दर्शनार्थी तथा पर्यटकसँग भलाकुसारीसमेत गरेकी थिइन्।

दर्शनका क्रममा स्थानीय जनप्रतिनिधि र मुक्तिनाथ विकास समितिका पदाधिकारीहरूले मन्दिर क्षेत्रमा भक्तजनले भोगिरहेका समस्या तथा आवश्यक पूर्वाधार निर्माण योजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। विकास समितिले पुरातत्व विभागमा पूर्वाधारसम्बन्धी फाइल पेश भए पनि स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा काम अघि बढ्न नसकेको जानकारी गराएको थियो। यस विषयमा प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ।

यसैबीच प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय तथा सम्बन्धित अधिकारीलाई निर्देशन दिएकी छन्। जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनकेन्द्रित छलफल कार्यक्रममा उनले निर्वाचन सफल बनाउन जिम्मेवारीपूर्वक तयारी गर्न आग्रह गरिन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जिल्लाको सुरक्षा अवस्था तथा निर्वाचनलक्षित सुरक्षा योजनाबारे जानकारी गराएकी थिइन् भने मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले निर्वाचन तयारीको हालसम्मको प्रगति प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।