दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झन्डा जलाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर उपमहानगरपालिका–६ गाइडरका २४ वर्षीय विक्रम परियार रहेका छन्। प्रहरीका अनुसार फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको घटनापछि सुरु गरिएको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप तथ्य संकलन गर्ने क्रममा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बुद्धि बहादुर बस्नेतलाई समेत पक्राउ गरिसकेको थियो। पछिल्ला दुई पक्राउसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हाल पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। साथै घटनामा अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।