देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । देशभर हाल सक्रिय मनसुनी वायुको प्रभावका कारण विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मौसम बदली रहनेछ।

बुधबार बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा भएको जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ।

बुधबार राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै, रातिको समयमा पनि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।