इरानको प्रदर्शनबारे ट्रम्पको दाबी: ३२ हजारको ज्यान गएको आरोप

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा इरानमा भएको प्रदर्शनका क्रममा करिब ३२ हजार मानिसको मृत्यु भएको दाबी गरेका छन्। उनले शुक्रबार व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै पहिलो पटक मृतक सङ्ख्याबारे सार्वजनिक टिप्पणी गरेका हुन्। पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले इरानका नागरिकहरू आफ्ना शासकहरूको नीतिसँग असन्तुष्ट रहेको तथा कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य भएको बताए। उनले छोटो अवधिमै हजारौँ नागरिकको ज्यान गएको दाबी गर्दै इरानले अन्तर्राष्ट्रिय समुदायसँग उचित सम्झौतामा पुग्न आवश्यक रहेको उल्लेख गरे।

ट्रम्पले इरान सरकारले ८३७ जनालाई मृत्युदण्ड दिने तयारी गरेको आरोप समेत लगाए। उनका अनुसार अमेरिकाले कडा चेतावनी दिएपछि उक्त निर्णय रोकिएको दाबी उनले गरेका छन्। उनले फाँसी कार्यान्वयन भए तत्काल प्रतिक्रिया दिने चेतावनी अमेरिकाले दिएको पनि बताए। यसैबीच, इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमित सैन्य आक्रमणको विकल्पबारे छलफल भइरहेको जानकारी दिएका छन्।