धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा आचारसंहिता विपरीत टाँसिएका करिब २० हजार चुनावी प्रचार सामग्री हटाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार विभिन्न राजनीतिक दल तथा उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाइएको हो। सार्वजनिक स्थल, बिजुलीका पोल, सरकारी भवन तथा सडक किनारामा राखिएका प्रचार सामग्री निर्वाचन आचारसंहिताविपरीत पाइएपछि हटाउने अभियान सञ्चालन गरिएको प्रशासनले जनाएको छ। निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनले यसअघि उम्मेदवार तथा दलहरूलाई नियमविपरीत टाँसिएका सामग्री स्वयं हटाउन निर्देशन दिएको थियो। तर निर्देशनको पालना नभएपछि प्रशासनले बिहीबार व्यापक रूपमा हटाउने अभियान सञ्चालन गरेको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले अब पुनः आचारसंहिता उल्लंघन गर्दै प्रचार सामग्री टाँसिए कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।